सरकारले तोकेको नयाँ सदरमुकाममा दीपावली, रुकुमकोटमा बिरोध



धनवीर दाहाल, रुकुम । विहीबार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट सार्ने सरकारको निर्णय विरुद्ध रुकुमकोटबासी आन्दोलनमा उत्रिएका छन् । विहीबार सरकारले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा १२ गोलखाडामा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरुद्धमा रुकुम पूर्वमा आन्दोलनको घोषणा गरिएको छ ।

रुकुमकोट र सदरमुकामबासीले अनिश्चितकालिन आमहडतालको आह्वान गर्दै विरोधमा उत्रिएका छन् । उनीहरुले अहिले सरकार र प्रधानमन्त्री शेरबहादुर देउवाको विरुद्धमा नाराबाजी गर्दै निर्णय सच्याउन दबाब दिएका छन् । सरकार र प्रधानमन्त्री बिरुद्ध चर्का नाराबाजी गर्दै सदरमुकाम रुकुमकोटमा र्याली निकालिएको छ । जिल्लामा रहेका सरकारी सबै कार्यालयहरु ठप्प पारिएको छ । यातायात, शैक्षिक सस्था लगायतका सेवा पनि ठप्प पारिएको छ । आन्दोलनको दोस्रो दिन पनि बिहानै देखी सडकमा टायर बालिएको छ । यातायात पुर्ण रुपमा बन्द छन् ।

गोलखाडामा स्वागत दीपावली
उता नयाँ सदरमुकाम तोकिएको ठाउँमा भने सरकारको निर्णयको भव्य स्वागत गरिएको छ । शुक्रबार साँझ पुथा उत्तरगंगा गाउँपालिका र गोलखाडामा स्थानीय बासिन्दाहरुले बाजागाजासहित सरकारको भव्य स्वागत गरेका छन् । असोज १९ गते प्रचण्डले रुकुमकोटमा सदरमुकाम उद्घाटन गरेपनि शेरबहादुर देउवा प्रधानमन्त्री रहेको सरकारले आफुहरुको माग पुरा गरिदिएको भन्दै शेरबहादुर देउवालाई धन्यवाद समेत दिएका छन् । गोलखाडामा खसीबोका काटेर अविरयात्रा गर्दै भव्य खुसीयाली मनाएको छ ।

रुकुम पूर्वको केन्द्रविन्दु नै गोलखाडा भएकोले सरकारले तोक्नु सही भएको कोलगाउँकी गोमा मगरले बताउनुभयो । सदियौदेखि प्रशासनबाट विमुख भएका मगरखामभाषीहरुलाई अब माग पुरा भएको अविनाश बुढामगरले बताउनुभयो । ढिलै भएपनि सरकारले सदरमुकाम तोकिदिएर राम्रो काम गरेको तकसेराका सतमान पुनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्