बिस बर्षपछि फेरी जनप्रतिनिधि बन्दै ठगेन्द्र पुरी

94
Shares

धनवीर दाहाल, रुकुम । २०५४ सालमा २३ बर्षको कलिलो उमेरमै जिल्ला विकास समिती रुकुमको उपसभापति भएर एक कार्यकाल सफलतापुर्वक सम्पन्न गरेका नेकपा एमालेका युवा नेता ठगेन्द्रप्रकाश पुरी बिस बर्ष पछि अर्थात २०७४ मा राष्ट्रिय सभा सदस्य बन्न लागेका छन् ।

उनले बिस बर्ष पछि फेरी जनताको प्रतिनिधि भएर काम गर्ने अवसर पाउन लागेका हुन् । २०३१ सालमा बाँफिकोट गाँउविकास समितीको काँडामा जमिन्एका पुरी गरिव परिवारमा हुर्केका एक मिलनसार तथा सफल नेतृत्वकर्ताको रुपमा चिनिन्छन् । बुवा सर्मु पुरी र आमा धनवती पुरीको कोखबाट जन्मिएका पुरी ६ भाई मध्य सबै भन्दा कान्छा हुन् ।

२०४६ सालदेखी पार्टीमा लागेका उनी अनेरास्वबियुको संस्थापक रुकुम जिल्ला संयोजक भएका थिए । यसै गरी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल रुकुमको अध्यक्ष हुँदै १३ बर्ष सम्म युवा संघ नेपालको केन्द्रीय सदस्य भई केन्द्रीय सचिवालय सदस्यमा रहेर काम गर्ने अवसर प्राप्त गरे । २०५० देखी नेकपा एमाले जिल्ला कमिटी रुकुमको सदस्य भई कुशल संगठकका रुपमा काम गर्दै आएका पुरी २०६६ देखी २०७० सम्म पार्टी रुकुम जिल्ला अध्यक्ष भएर एक कार्यकाल रुकुम एमालेलाई हाँक्ने अवसर पाए ।

त्यसपछि पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, राप्ती अंचल सदस्य हुँदै हाल नेकपा एमाले प्रदेश नं ६ को प्रदेश कमिटी सदस्य भएर काम गरिरहेका छन् । कानुन बिषयमा स्नातक गरी अधिबक्ता समेत भइसकेका उनी बिभिन्न सामाजिक संघ संस्थाहरुमा समेत रहेर सामाजिक कार्यमा क्रियासिल रहेका छन् । पुरी नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य पनि छन् ।

रत्न आधारभुत बिद्यालय बाँफिकोटको बाँफिकाँडाबाट प्राथमिक शिक्षा हासिल गरेका पुरीले माध्यामिक शिक्षा बिरेन्द्र मावि बाँफिकोट र उच्च शिक्षा महेन्द्र बहुमुखी क्याम्पस भरतपुर घोराही दाङ्गबाट हासिल गरेका छन् । राजनितिमा निकै क्रमठ र इमान्दार नेताको रुपमा आफ्नो परिचय बनाएका पुरीले राष्ट्रिय सभा सदस्यमा निबार्चित भइसकेपछि देशको निति नियम बनाउने तहमा पुगेर श्रमजिवी र श्रवहारा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।

नेकपा एमालेले पुरीलाई प्रदेश नं ६ बाट राष्ट्रिय सभा सदस्यको लागी उम्मेदवार बनाएको छ । पुरीलाई जिल्ला पार्टी हुँदै प्रदेश कमिटी र पार्टी केन्द्रीय कमिटीले राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेपछि रुकुममा यतिबेला खुुसीयाली छाएको छ । नेकपा एमालेले रुकुममा धेरै बर्षको मेहनत पछि जनप्रतिनिधि पाउने भएपछि पार्टी कार्यकर्ता स्तरमा पनि खुसी छाएको छ । नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष बिमलकुमार पुनले पुरीको जित निश्चित भएको दावी गरे ।

“उहाँ अव राष्ट्रिय सभा सदस्य बनीसक्नुभएको छ” उनले भने “माघ २४ पछि औपचारिक घोषणा मात्र हुने हो ।” यस्तै उनले भने “क्रमठ र एक जुझारु युवा नेतालाई निति निमार्ण बनाउने तहमा हामीले पठाएका छौं” । नेकपा एमाले रुकुम पश्चिमका इन्चार्ज एवं केन्द्रीय सदस्य शेरबहादुर के.सीले जनतासँग निरन्तर रहेर काम गरेको एक असल युवा नेतालाई पार्टी मुल्यांकन गरी उम्मेदवार बनाएकोले र बाम गठबन्धनको बर्चश्व भएकोले पनि पुरीको जित निश्चित भएको दावी गरे ।