प्युठानको जस्पुरमा मालपोत कार्यालय स्थापना

0
Shares

प्यूठान । प्यूठानको जस्पुरमा मालपोत कार्यालय स्थापना भएको छ । दुई वर्ष अघि मन्त्रि परिषदको निर्णय गरेपछि ०७४ जेठ २३ गते कार्यालय स्थापना भएपनि काम शुरु भएको थिएन ।

आईतबार प्रमुख जिल्ला अधिकारी डा.कृष्ण बहादुर घिमिरेले कार्यालय उद्घाटन गरेसँगै सेवा सुचारु भएको छ । मन्त्रिपरिषदले साविकका एघार गाविसलाई सेवा दिने गरि कार्यालय स्थापना गर्ने निर्णय भएको थियो, प्रजिअ घिमिरेले भन्नुभयो, चार वटा गाविस छुटेपछि कार्यालय स्थापना हुन सकेको थिएन । उहाँले यहि पुस १३ गते मन्त्रिपरिषदले थप चार गाविसलाई समेत समेटेपछि मालपोत र नापीको दुवै कार्यालयबाट सेवा सुचारु भएको उहाँले जानकारी दिनुभयो ।

कार्यालय स्थापना सँगै जिल्लाको माडी क्षेत्रका साविकका गाविस बांगेशाल, हंसपुर, ढुंगेगढी, तिराम, मर्कावाङ, नयाँगाउ, रम्दि, गोठिवाङ, भिंगृ, स्वर्गद्धारी, कोचिवाङ, सारी, वेलवास, बर्जिवाङ, र उदयपुरकोटका स्थानीय लाभान्वित हुने भएका छन् । जिल्ला मालपोत कार्यालयबाट यस क्षेत्रका मोठ, रोक्का र अन्य सवै कागजात जस्पुरमा ल्याइएको मालपोत अधिकृत गोपालप्रसाद नकर्मीले बताउनुभयो । नापी कार्यालयका प्रमुख झमलाल गाहाले पनि कार्यालयले सवै प्रकारका सेवा दिन शुरु गरेको बताउनुभयो ।

जस्पुरमा यी कार्यालयसँगै इलाका प्रशासन कार्यालयले समेत सेवा दिँदै आइरहेको छ । स्थानीय स्तरमै सेवा पाउँदा खुशी भएको छु,गोठिवाङका बेलमती सार्किले भन्नुभयो,श्रीमानको नाममा रहेको जग्गा नामसारी गरे । बर्जिवाङका यमीदेवी कालाथोकीले हराएको लालपुर्जाको प्रतिलिपी सजिलै निकाल्न पाएको बताउनुभयो । कार्यालय स्थापनाले हालका स्वर्गद्धारी नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाका स्थानीयलाई सहज हुने भएको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन समेत प्रजिअ घिमिरेले स्थानीय र कर्मचारीलाई आग्रह गर्नुभएको छ ।