थामिएन राजधानी मागको आन्दोलन

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । प्रदेश नम्बर २ को राजधानी माग गर्दै वीरगन्जमा जारी रहेको आन्दोलन अझै थप चर्काउने निर्णय भएको छ ।
संघर्ष समितिको बैठकले रिले अनशनलाई जारी राख्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनलाई थप प्रभावकारी बनाउन लागिएको संर्घष समितिका सहसंयोजक राजकुमार गुप्ताले जानकारी दिए ।बैठकले रिले अनशनलाई जारी राख्दै माघ १३ गते वीरगन्जमा जुलुस प्रर्दशन गर्ने, १९ गते आमसभा गर्ने, २० गते मसाल जुलुस प्रर्दशन गर्ने र माघ २१ गते वीरगञ्ज बन्द गर्ने निर्णय गरेको छ ।

संघर्ष समितिले पर्सा जिल्लाका ग्रामिण क्षेत्रमा पनि जागरणका कार्यक्रम गर्ने निर्णय गरेको छ । ‘वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन अन्य जिल्लाहरुको पनि समर्थन चाहिन्छ । त्यसका लागि ‘अन्तर जिल्ला समन्वय समिति’ छ । यसले पनि आफ्नो काम गर्छ’ संघर्ष समितिका प्रवक्ता ओम प्रकाश सर्राफले भने ।

जनकपुरलाई प्रदेशन २ को अस्थायी मुकाम घोषणा गर्न लागेको संकेत पाएदेखि वीरगन्जमा आन्दोलन सुरु भएको थियो भने २०दिनदेखि रिले अनसन जारी छ । सरकारले भने जनकपुरलाई प्रदेशको अस्थायी मुकाम तोकिसकेको छ ।यद्यपी यसको बिरोध वीरगन्जमा जारी छ । वीरगन्जलाई राजधानी बनाउने सवालमा मधेशवादी दलका शीर्ष नेताहरु भने मौन रहेका छन् ।

राजपाका नेता लक्ष्यमणलाल कर्णले भने वीरगन्ज राजधानी नहुने बताइ सकेका छन् । चुनावमा हारेकाहरुले नाटक गरेको भन्दै उनले काठमाडौंमा बोलेपछि वीरगन्जमा झनै माहौल बिग्रिएको आन्दोलनकारीहरुको भनाइ छ ।