क्लिंकर आयातको समस्या जस्ताको त्यस्तै सरकारले बेवास्ता गरेको गुनासो



कृष्णउदास खनाल, वीरगन्ज

भारतीय रेल निगमले रक्सौल यार्डमा क्लिंकर लोड र अनलोड गर्न नदिएका कारण अझै पनि भारतबाट क्लिंकर नेपाल आयात हुन नसक्दा नेपाली उद्योगी मारमा परेका छन्।

रक्सौल रेल्वे यार्ड हुँदै क्लिंकर ल्याएर बारा–पर्सा क्षेत्रका १३ वटा सिमेन्ट उद्योग सञ्चालन हुँदै आएका छन्। डिसेम्बर २२ तारिख अघि बुकिङ भई बाटोमा अलपत्र परेका क्लिंकरका र्याक आए पनि त्यसपछि वीरगन्ज नाका हुँदै क्लिंकर आउन अझै नसकेको स्थानीय व्यापारीले जनाएका छन्।

रक्सौलका बासिन्दाले क्लिंकरलगायत सिमेन्ट उद्योगका कच्चा पदार्थका कारण प्रदूषण बढेको भन्दै विरोध जनाएपछि समस्या समाधानका लागि भारतले एकपक्षीय रूपमा रक्सौल र्याडमा क्लिंकरलगायतका औद्योगिक कच्चा पदार्थ आयातमा रोक लगाएको हो।

चालू आर्थिक वर्षको पाँच महिनामा वीरगन्ज भन्सार नाका हुँदै ४ लाख ४ हजार १ सय ४ मेट्रिक टन क्लिंकर आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो।

सिमामा रहेको अवरोधका बाबजुद पनि क्लिंकर आयात भने बढेको तथ्यांकले देखाउँछ। यसको अर्थ विवाद शुरू हुनुभन्दा पहिले नै गत वर्षको तुलनामा बढी सिमेन्ट आयात भएको हो। वीरगन्ज भन्सार कार्यालयका अनुसार अघिल्लो वर्षको पहिलो ५ महिनामा ३ लाख ९७ हजार ९५ मेट्रिक टन क्लिंकर आयात भएको थियो।

क्लिंकर आयात क्रमशः बढ्दै गएको देखिएकाले त्यसको व्यवस्थापनका लागि नेपालमा निजी क्षेत्रकै बन्दरगाह भए उत्तम हुने भने प्रमुख पोखरेलको भनाइ छ। उहाँले भन्नुभयो– ‘बन्दरगाहको नेतृत्व निजी क्षेत्रले लिन सक्नुपर्छ, माथिल्लो निकायमा हामी पनि पहल गर्छौं।’

भारतीय रेल्वे निगमले भारतीय कन्टेनर निगम लिमिटेड (कन्कोर) सँग परामर्श गरी गत डिसेम्बर २२ तारिखमा क्लिंकरको कार्गो सिधैं वीरगन्जस्थित सुक्खा बन्दरगाहमा अनलोड हुने बताएको थियो। त्यसका लागि आवश्यक संरचना १५ दिनमा कन्कोरले सुख्खा बन्दरगाहमा आवश्यक प्रबन्ध मिलाउने बताएको थियो। तर, त्यस्तो केही हुन नसक्दा सिमेन्टको कच्चा पदार्थ आयात हुन नसकेको हो ।

वीरगन्ज उद्योग वणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले अचानक भारतीय पक्षले क्लिंकर आयात रोकेका कारण नेपाली व्यवसायीलाई करोडौंको नोक्सानी भइरहेको नेपाल समाचारपत्रलाई बताउनुभयो। नेपाली पक्ष गम्भीर नभएकै कारण व्यवसायीको अर्बौंको लगानी, हजारौंको रोजगारी तथा करोडौंको राजस्व पनि गुमेको उहाँको दाबी छ। क्लिंकरको समस्याले १०औं हजार मजदूरको रोजगारी गुम्ने खतरा बढेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्