न्युयोर्कको आगलागीमा बाह्रको मृत्यु


न्युयोर्क सिटी, (एजेन्सी)
अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स क्षेत्रको एउटा अपार्टमेन्टमा भएको आगलागीमा कम्तिमा १२ जना व्यक्तिको ज्यान जानुका साथै अन्य ४ जना सिकिस्त घाइते भएको प्रहरीले जनाएको छ।
न्युयोर्क सिटीका मेयर बिल डी ब्लासियोले कम्तिमा २५ वर्ष लामो इतिहासमै यो आगलागी सबैभन्दा भयावह रहेको जानकारी दिएका छन्। उनले मारिनेमा १ जना १ वर्षीय बालकसमेत रहेको पनि बताएका छन्।

फोर्डह्याम विश्वविद्यालय र ब्रोन्क्स चिडियाखाना नजिकको प्रोस्पेक्ट एभेन्युमा भएको यस दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। उक्त आगोलाई नियन्त्रणमा लिन १ सय ६० जनाभन्दा बढी अग्निनियन्त्रक परिचालित भएका थिए। अधिकारीहरुले आगो उक्त भवनको पहिलो तल्लाबाट शुरु भएर तीव्र गतिमा फैलिएको बताएका छन्। टेलिभिजन फुटेजमा अग्नियिन्त्रकहरुले मानिसहरुलाई बोक्दै आगोबाट बचाएर सुरक्षित गन्तव्यमा लगेको देखाइएको छ।

न्युयोर्कको निकै चिसो मौसममा सडकमा अलपत्र परेका पीडितहरुलाई रेकक्रसले कम्बल बाँडेको थियो। अहिले न्युयोर्क तापक्रम माइनस १३ डिग्री सेल्सियस रहेको छ।
करिब १ सय वर्षअघि बनेको उक्त भवनमा २० वटा भन्दा बढी फ्ल्याट रहेका छन्।