नगर प्रमुखको लगानीमा प्रतिक्षालय निर्माण

0
Shares

सरिता चलाउने, सल्यान । सल्यानको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले आफनै लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा नयाँ प्रतिक्षालय निर्माण गर्नु भएको छ ।
नगर प्रमुखको पद ग्रहण गरेपछि नगरपालिकाबाट आफुले पाउने तलबभत्ता सामाजिक काममा लगाउने घोषणा गरेका बुढाथोकीले व्यक्तिगत लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा सार्वजनिक प्रतिक्षालय निर्माण गर्नु भएको हो ।
प्रमुख बुढाथोकीले स्थानीय निकायको प्रमुखको हैसियतले प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा आफुले व्यक्तिगत रुपमा सार्बजनिक प्रतिक्षालय निर्माण गरेको बताउनु भएको छ ।
विरामी र उनका कुरुवालाई घामपानी छ्ल्ने उचित स्थान नदेखेपछि एउटा पक्की प्रतिक्षालय निर्माण गर्नुपर्ने भाव मनमा जागेकोले आधुनिक प्रतिक्षालय निर्माण गरेको बुढाथोकीले बताउनु भयो ।
नगरप्रमुख बुढाथोकीले शान्ति समिती सल्यान बाट विस्थापितको रुपमा आफ्नो नाममा आएको २५ हजार र अन्य रकम थप गरेर प्रतिक्षालय निर्माण गरेको बताउनु भएको छ । राजनीति गर्ने नेताहरुले द्वन्दपीडित र विस्थापितको नाममा धेरै रकम प्राप्त गर्ने गरेको र वास्तविक द्वन्द्व पिडितले भन्दा पहुँचको आधारमा अवास्तविक व्यक्तीले राहत पाएको भन्दै उहाँले राजनीतिमा कुनै पनि नेता विस्थापित नभै स्थापित हुनुपर्ने भन्दै उक्त रकम सहित अन्य रकम सार्वजनिक स्थानमा लगानी गरेको बतानु भयो ।
जनताको सेवामा रहने पाँच बर्षको कार्यकालमा बागचौर नगरपालिका लाई समुन्नत नगरपालिका बनाउने कार्यमा आफू लागि परेको र यसमा साथ दिन नगरबासिमा अनुरोध गरेका छन ।