विधानसभा निर्वाचनः गुजरात र हिमाञ्चल दुबैमा बिजेपीलाई अग्रता


काठमाडौँ । भारतको गुजरात र हिमाञ्चल प्रदेशमा भएको विधानसभा चुनावको मतगणना सोमबारबाट सुरु भएको छ । प्रारम्भिक नतिजामा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बिजेपी) ले अग्रता लिएको छ । एक सय ८२ विधानसभा सिट रहेको गुराजतमा मतगणनाको प्रारम्भिक नतिजा आउँदा बिजेपीले एक सय ६ सिटमा अग्रता लिएको छ । यस्तै राहुल गान्धी अध्यक्ष रहेको कांग्रेसले ७३ सिटमा अग्रता कायम गरेको छ । २२ वर्षदेखि गुजरातमा सत्तामा रहेको भाजपाले सन् २०१२ मा एक सय १६ सिट जितेको थियो । प्रधानमन्त्री बन्नुअघि नरेन्द्र मोदी तीनपटकसम्म गुजरातको मुख्यमन्त्री बनेका थिए । सन् २०१२ को चुनावमा ६१ सिट जितेको कांग्रेसले यसपटक बढी सिट जित्ने अपेक्षा गरिएको छ । यस्तै हिमाञ्चलमा पनि बिजेपीले नै अग्रता लिएको छ । ६८ सदस्य रहेको विधानसभामा बिजेपीले ४० तथा कांग्रेसले २३ सिटमा अग्रता कामय गरेको छ । चुनावपछिको मत सर्वेक्षणमा दुवै प्रदेशमा बिजेपी विजयी हुने आंकलन गरिएको छ ।