रुकुममा ३९ वटा मानवअधिकार उलंघनका घटना

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुममा ३९ वटा मानवअधिकार उलंघनका घटना घटेको एक प्रतिबेदनले देखाएको छ । जस अन्र्तगत हत्याका ३, धम्की कुटपीट (गैरराज्य पक्षबाट) १३, गिरफ्तारका ६, बालअधिकार अन्तर्गत बलात्कार तथा यौन दुव्र्यवहारका ५, विद्यालयमा शारीरिक यातना १, बालविवाह ३, महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्तर्गत कथित बोक्सी आरोप १, बहुविवाह ७ गरी जम्मा ३९ वटा घटना रहेका छन् । यस्तै सुझावको क्रममा सहभागीबाट प्राप्त संकलन गर्न बाँकी हत्याका ३ र कुटपीट धम्की १ गरी ४ वटा घटनाको अभिलेख संकलन गरी प्रतिवेदनलाई पूर्णता दिईने इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले बताईन । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ का लागि रुकुम जिल्लामा २०१७ जनवरीदेखि हालसम्म भएका मानवअधिकार उल्लंघन र ज्यादतिका घटनाहरुको पूर्व समिक्षा सोमबार मुसिकोट खलंगामा सम्पन्न भएको हो । समिक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले इन्सेकले प्रत्येक वर्ष मानवअधिकार उल्लंघनका घटना समेटेर वर्ष पुस्तक प्रकाशन गर्दा मानवअधिकारको क्षेत्रमा राज्यका निकायलाई संवेदनशील बनाएको बताए । यसबाट जिल्लाभित्र पनि कुन क्षेत्र मानवअधिकारको दृष्टिकोणले संवेदनशील छ भन्ने पनि जानकारी हुने हुँदा सोही अनुसार काम गर्न आफूहरुलाई सहज हुने उनले बताए ।
यस वर्षका घटनाहरुमा बाँफिकोट गाउँपालिकामा बढि घटना देखिएकोले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाई छ । त्यस्तै रुकुम जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले इन्सेकले मानवअधिकार वर्ष पुस्तक प्रकाशन गरेर स्रहानीय काम गरेको भन्दै आगामी दिनमा उक्त पुस्तकका लागि आवश्यक घटनाको सत्य तथ्य जानकारी दिन आफूहरु तयार रहेको बताए । इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले वर्षभरीमा संकलन गरेका घटनाहरु प्रस्तुत गरेको उक्त कार्यक्रममा बोल्दै जिल्ला बार ईकाई रुकुमका कोषाध्यक्ष अधिवक्ता ठगेन्द्रप्रकाश पुरीले मानवअधिकार हननका केही घटना छुट्न गएकोले ती घटनालाई समेटन सुझाव दिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय रुकुमका निमित्त प्रमुख इन्स्पेक्टर ऋषिकुमार ढुंगाना, सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुन, निमित्त महिला विकास अधिकृत भावना शाह, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।