कास्कीमा काँग्रेसको इज्जत जोगियो

0
Shares

धन बस्नेत, पोखरा । कास्की क्षेत्र न। २ प्रदेश खका उम्मेदवार विन्दुकुमार थापाले जित्दै नेपाली काँग्रेस कास्कीको इज्जतलाई जोगाएका छन् । बाम गठबन्धनका राजकाजी गुरुङ करणलाई ८०२ मतले पराजित गर्दै कास्कीमा एक्लो बृहस्पतिको रुपमा थापा उदाए ।

थापाले १० हजार ७२६ मत ल्याएका थिए । गुरुङले भने ९ हजार ९ सय २४ मत पाए । काँगे्रसबाटै बागी उठेका नरेशशंकर पालिखेले ११५८ मत पाएका थिए । चेपुवा परेर पनि चुनाव जित्दै थापाले काँग्रेसलाई बाम गठबन्धनको क्लिन स्वीप हुनबाट जोगाए । यद्यपी गुरुङ २०७० सालको चुनावमा पर्वतबाट समेत पराजित भएका थिए । गुरुङले २०६४ सालको पहिलो संविधान सभाको चुनावमा भने तत्कालिन कास्की क्षेत्र नं २ बाट विजयी भएका थिए ।

पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष थापा निकै सरल स्वभावका छन् । “पर्यटन, उर्जा, कृषि र दक्षजनशक्ति ” नारा लिई चुनावी अभियानमा हिडेका थापाले अब पाँच वर्ष आफनो नारासहितको प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बताएका छन् ।

२०१४ सालमा जन्मिएका थापा पोखराका सफल व्यवसायी हुन् । २०६३ सलामा न्ेपाली काँग्रेसको क्रियाशिल सदस्य बनेका थापाले पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको नेतृत्व समेत सम्हालिसकेका छन् । उनले सन २०१४ देखि १६ सम्म अध्यक्ष सम्हाले । त्यसभन्दा अघि उनी सन २००५ देखि पोखरा उद्योग वाणिज्य संघका विभिन्न पदमा रहेर काम गरेका थिए ।

२०४१ सालदेखि २०६० सालसम्म नेपाल राष्ट्र बैंकमा कार्यरत थापा कानून विषयमा स्नातक हुन् । नेपाल बार एशोसियनसनका सदस्य समेत रहेका थापा पोखरा टे«ड मलका अध्यक्ष समेत हुन् । सामाजिक संस्था लायन्सदेखि, रोटरी क्लब अफ पोखरा अन्नपुर्ण, नेपाल डेमोक्रेटिक लयर्स एशोसियन, नेपाल क्यान्सर रोग निवारण संस्था लगायत विभिन्न दर्जनौं संघसंस्थामा आवद्ध छन् । गण्डकी ट्रेड हाउस, गण्डकी रियल स्टेट प्रालि र अन्नपूर्ण रेसिडेन्सी उनको व्यवसायिक प्रतिष्ठान हुन् । थापा गण्डकी विकास बैंकका निर्देशक हुन् ।

६० वर्षे उमेरमा प्रदेशका माननीय बनेका थापा पोखरा अन्तराष्ट्रिय विमान स्थल निर्माण उच्चस्तरीय सहयोग समिति अन्तर्गत मुअब्जा समस्या समाधान समितिका संयोजक भई ६२९ रोपनी जमिनको मुअब्जा वितरण गरेका थिए । पोखराको खानेपानी समस्या समाधानको लागि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष रहदाँ जाईकाको पाँच अर्ब सहयोगमा खानेपानी शुद्धिकरण पाईपलाईन विस्तारका लागि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

उनले निर्वाचित भएपछि सविधानको सफलतापुर्वक कार्यान्वयन पहिलो आवश्यकता भएको बताए । त्यसपछि पोखराको समग्र विकास गर्दै समृद्धिको अभियानमा लाग्ने उनको भनाई थियो । उनले पोखराको अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखी तदारुकता दिने, पोखराको बसपार्क निर्माण, सुकुम्बासी समस्याका व्यवस्थित व्यवस्थापन, खेलकुदको पुर्वाधार विकासमा आफनो प्रमुख अभियान रहेको उल्लेख गरे ।