कामना न्यूज पब्लिकेसन्स् ३४ बर्षमाः अझ शसक्त ढंगले अघि बढ्छ- श्रेष्ठ


नेपाल समाचारपत्र, काठमाडौं ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिले आफ्नो स्थापनाको ३४ औं बार्षिकोत्सव मनाएको छ । पब्लिकेसन्स् परिसर भिमसेनस्थान स्थित कामना प्लाजामा आयोजित एक कार्यक्रमका वीच कामनाकर्मीले शुभकामना आदान–प्रदान गरे ।

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले विभिन्न आरोह अवरोहका वीच संस्था ३४ औं वर्षमा प्रवेश गरेको बताउनुभयो । सामान्य ढंगबाट स्थापित भएको सञ्चार माध्यम मुलुककै पुरानो र प्रतिष्ठित सञ्चार माध्यमका रुपमा चिनिएको उहाँको भनाई थियो ।

सञ्चार माध्यमहरुमा बढ्दो अस्वस्थ प्रतिस्पर्धाका वीचमा पनि पब्लिकेसन्स्ले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेको बताउँदै श्रेष्ठले आगामी दिनमा पनि पत्रकारिताका मूल मर्मलाई समेट्दै अझ शसक्त ढंगले अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।

पब्लिकेसन्स् मुलुककै निजी क्षेत्रको संस्थागत सञ्चारगृह हो । २०४१ साल मंसिर १५ गतेदेखि कामना सिने मासिकबाट पत्रकारिता आरम्भ गरेको थियो ।

यही पब्लिकेसन्स्बाट कामना मासिकका अतिरिक्त नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, स्वास्थ्य मासिक साधना प्रकाशनमा छन् भने न्यूजअफनेपालडटकम अनलाइन पनि सञ्चालनमा छ । पब्लिेकसन्स्ले ३३ वर्षे यात्रा पार गर्ने क्रममा ३ सय अंकको कामना सिने मासिक प्रकाशन गरेको छ भने विगत ४ वर्षदेखि कामना फिल्म अवार्डस् समेत आयोजना गर्दै आएको छ ।