सडकमा ब्रुमर लगाउँदै महानगरपालिका


ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले राजधानीको मुख्य सडक सफा राख्न ब्रुमर लगाउने भएको छ।

पहिलो चरणमा टँुडिखेलवरपर त्यसलगत्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत स्थानमा ब्रुमर लगाउन लागेको हो। राजधानीको सडक धुलाम्य भएको आरोप खेपिरहेको कामपाले पहिला टुँडिखेल क्षेत्रवरपर धुलोमुक्त बनाएर अन्य स्थानमा काम शुरू गर्ने भएको छ।

कामपाका मेयर विद्यासुन्दर शाक्यले टँुडिखेल सफा भएलगत्तै दरबारमार्ग, त्रिपुरेश्वर, माइतीघर हँुदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने मूल सडक, कमलपोखरी, महाराजगन्जलगायतका एक दर्जनभन्दा बढी सडकमा ब्रुमर लगाउने भएको छ।

कामपाले सडक विभागको ब्रुमरबाट सडक सफा गरेको हो। महानगरको क्लिन द सिटी अभियानअन्तर्गत सडकमा ब्रुमर लगाउन थालिएको हो। सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार बिहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा बु्रमर लगाएर सडक सफा गरिएको थियो।

मेयर शाक्यले मेलम्ची खानेपानी परियोजनाले पाइप बिच्छइइसकेको बाटोमा बु्रमर चलाउन लागेको जानकारी गराउँदै भन्नुभयो– ‘केही महिनापछि काठमाडौंको सबै सडकमा ब्रुमर प्रयोग गरेर बाटो सफा गर्नेछौं।’ कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले केही दिनभित्र कामपासँग भएको ब्रुमर मर्मत गरेर दुईवटाले बाटो सफा गर्ने जानकारी दिनुभयो।

ब्रुमरले बाटो सफा गर्न थालेपछि टुँडिखेल वरपरको सडक सफा भइसकेको छ। ब्रुमरले बाटो सफा गरेपछि हरेक राति जेड मेसिनले बाटो पखाल्न शुरू गरिने जानकारी गराउँदै प्रमुख कुँवरले भन्नुभयो– ‘टुँडिखेल वरपर जेड मेसिनले सफा गर्ने काम शुरू गरिसकेका छौं।’

यसै गरी शहरी सुन्दरता कायम गर्न कामपाले राजधानीका २५ स्थानमा आइल्यान्ड निर्माण गर्ने भएको छ। शहरलाई धुलोमुक्त बनाएसँगै राजधानीको विभिन्न स्थानमा आइल्यान्ड निर्माण गर्ने तयारी गरेको विभागले जनाएको छ। विभागले हालसम्म करिब एक दर्जन नयाँ आइल्यान्ड निर्माण भइसकेको र बाँकी स्थानमा निर्माण गर्ने चरणमा रहेको जनाएको छ।

मेयर शाक्यले शहरी सुन्दरता कायम गर्न आइल्यान्ड निर्माण कार्यलाई तीव्रता दिन लागेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘राजधानीलाई साँच्चिकै सुन्दर शहर बनाउने परिकल्पनाअनुसार योजना बनाइएको र सोही योजनाअनुसार काम भइरहेको छ।’

कामपाले विमानस्थल अगाडि, तीनकुने पेट्रोल पम्पसँगै, कोटेश्वर चोकमा ३ वटा, माइतीघर, कृष्ण पाउरोटी चोक, त्रिपुरेश्वर चोक, कालीमाटी चोकमा रहेको शंखधर शालिकसँगै, टंकेश्वर, रणोद्वीप चोक, भृकटीमण्डप, कमलादी, भद्रकाली शालिकसँगै, थापाथली, बानेश्वर र पुतली सडकमा नयाँ आइल्यान्ड निर्माण गर्न लागिएको हो।

कामपाले खाली रहेका सबै सार्वजनिकस्थलमा पार्क विकास गर्ने योजनाअनुसार काम अघि बढाएको जनाएको छ। वातावरण व्यवस्थापन विभाग प्रमुख कुँवरले राजधानीलाई हरित नगरी बनाउने योजनाअनुसार आइल्यान्ड र पार्क निर्माणको काम भइरहेको जानकारी दिनुभयो।