‘वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ’


चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो–“अब बन्ने वामपन्थीको शक्तिशाली सरकारले मात्र नेपाली जनताको विकासको चाहना पूरा गर्ने बताउनुभएको छ ।”

चितवन क्षेत्र नं ३ को झनझनेमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले– “निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले विकासको गतिलाई तीव्रता दिने बताउनुभयो । अहिलेसम्म भएका अस्थिर सरकारले देशको विकास गर्न नसकेको भन्दै उहाँले अब बन्ने स्थिर सरकारबाट मात्रै जनताको चाहना पूरा हुने बताउनुभयो ।”

निर्वाचनपछि वामपन्थीको सरकार बन्न दुनियाको कुनै तागतले रोक्न नसक्ने उहाँको दाबी थियो । निर्वाचनको समयमा काँग्रेसका कार्यकर्ताले समेत आफूलाई मत हाल्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो– “केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर मात्र विकास सम्भव छ ।”

उहाँले निर्वाचन जितेर गएपछि चितवन देशकै नमूना बनाउने संकल्प गर्नुभयो । एक वर्षमा जिल्लाका मुख्य सडक उच्चस्तरीय कालोपत्र गर्ने, पाँच वर्षभित्रमा सबै शाखा बाटोको चांैडा बनाई कालोपत्र गर्ने, नारायणी र राप्तीमा उच्चस्तरीय तटबन्ध र पर्खालसहितको मेसजालीको काम गरिने, माडी र भरतपुर रिङरोड निर्माण गर्ने उहाँले बताउनुभयो ।

चितवनलाई पर्यटकीय दृष्टिले दोस्रो स्थानमा ल्याउनका लागि सौराहादेखि जगतपुर हुँदै गोलाघाटसम्म पर्यटन मार्ग बनाउनुपर्ने उहाँले बताउनुभयो । चितवनको नवनिर्माण शुरु गर्ने र सिंगो चितवन बनाउने योजना आफूसँग रहेको बताउँदै उहाँले जिल्लालाई, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको केन्द्र बनाउने बताउनुभयो ।

निर्वाचनको समयमा पैसा, रक्सी र मासुले निर्वाचन नजितिने भन्दै उहाँले निर्वाचन जित्न देश विकासका लागि खाका हुनु आवश्यक रहेको बताउनुभयो । जिल्लामा देखिएको सुकुम्बासी, दलित र अल्पसंख्यकको समस्या समाधानका लागि अब बन्ने सरकारको पहिलो बैठकबाट समाधान गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।