मकवानपुरको मनहरी बजारमा बम विस्फोट !

0
Shares

हेटौंडा, (नेस) । पश्चिम मकवानपुरको व्यस्त मनहरी बजारमा रहेको प्रतीक्षालयमा शनिबार दिउँसो करिब ४ बजे बम विस्फोट भएको छ । मनहरी बजारमा रहेको प्रतीक्षालयमा विष्फोट भएको हो ।
टाइम सेट गरेर राखिएको सुतली बम विष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा मानवीय क्षति नभएको तर प्रतीक्षालयमा क्षति भएको छ । विस्फोटबाट प्रतीक्षालयको टिनको छानामा केही प्वाल परेका छन् । प्रतीक्षालयमा कोही नरहेका कारण मानवीय क्षति भने भएन ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र सशस्त्र प्रहरी बेसक्याम्प लच्काका प्रहरीहरु घटनास्थल पुगेका थिए । टाइम सेट गरी सानो आकारको सुतली बम निर्माण गरी प्रतीक्षालयमा राखेको पाइएको इलाका प्रहरी कार्यालय प्रहरी मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताउनुभयो । घटनापछि मनहरी बजारमा त्रास फैलिएको छ ।
शनिबार दिउँसो बाम गठबन्धनको मनहरीस्थित मनकामना मन्दिरपरिसरमा जनसभा राखिएको थियो भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पनि मनहरी नै केन्द्रित भएर कार्यक्रमहरु सञ्चालन गरिरहेका थिए । निर्वाचन वहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेकपा क्रान्तिकारीले विस्फोट गराएको आशंका छ । यद्यपि, उनीहरुले नै बम पड्काएको भन्ने पुष्टि भएको छैन ।