दाेलखामा बुथ कव्जा गर्न ल्याईएका युवा मालीबाट पक्राउ

0
Shares

दोलखा । आसन्न निर्वाचनमा बुथ कव्जा गर्नका लागि जिल्ला बाहिरबाट भित्र्याईएका केही युवाहरु दोलखाको जिरी नगरपालिकाबाट पक्राउ परेका छन् ।

जिरी नगरपालिका वडा नम्वर ३ को रोसी गाउँबाट काठमाडौँ र सिन्धुपाल्चोकका सहित ४ जना पक्राउ परेका हुन् । निर्वाचनमा बुथ कव्जा गर्ने प्रयोजनका लागि ८ वटा मोटरसाईकलमा रोसी पुगेका १६ जना युवाहरुमध्य ४ जना पक्राउ परेका हुन् । स्थानीय वासीको घरभित्र मोटरसाईकल लुकाउँदै गरेको अवस्थामा एमाले र माओवादीको वाम गठवन्धनका युवा कार्यकर्ताले देखेपछि प्रहरीलाई खवर गरेर उनीहरुलाई पक्राउ गर्न लगाईएको हो ।

सशस्त्र प्रहरी बलको टोलीले मोटरसाईकल सहित रोसी पुगेका सबै युवालाई नियन्त्रणमा लिएको स्थानीयले बताएपनि दोलखा प्रहरीले भने ४ जनालाई मात्रै पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको दुई तथा काठमाडौँको थली र जोरपाटीका २ गरी ४ जना रहेका छन् । पक्राउ परेका चारै युवालाई ईलाका प्रहरी कार्यालय जिरीमा राखिएको छ । उनीहरुसँगै पक्राउ परेका जिरी नगरपालिकाकै एक शेर्पा युवालाई भने प्रहरीले पक्राउ गरि अनुसन्धान गरेर छाडेको छ ।

दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी रामेश्वर कार्कीले जिल्ला बाहिरका ४ जना युवाहरु पक्राउ परेको पुष्टी गर्दै फरार रहेका अन्य युवाहरुको पनि खोजी भईरहेको जानकारी दिनुभयो । ती युवाहरुलाई जिरी नगरपालिकाको माली र श्यामाको बुथ कव्जा गर्ने योजनाका साथ कांग्रेसले भित्र्याएको आशंका गरिएपनि पुष्टी हुन बाँकी छ । पक्राउ परेका युवाहरुले भने अाँफुहरु साथीको ‘बर्थ डे’ मनाउन रोशी आएको दावि गरेका छन् । तर स्थानीयबासीले भने जिरी नगरपालिकाको माली घर भएका शेर्पा विद्यार्थी सँघका केन्द्रीय सदस्यले केही युवाहरु भित्र्याएको बताएका छन् ।

दोलखा प्रहरीले गएराति पनि सदरमुकाम चरिकोटबाट दुई जना जिल्ला बाहिरका युवाहरुलाई पक्राउ गरेको थियो । पक्राउ परका दुवै जनालाई सार्वजानिक मुद्धा चलाईएको छ ।