जाजरकोटमा कांग्रेस उम्मेदवारलाई गाउँलेले लखेटे



जाजरकोट । वाम गठबन्धनको कार्यक्रममा बाजा बजाएकै कारण दलितमाथि कुटपिट गरेको भन्दै कांग्रेसका उम्मेदवार गाउँबाट लखेटिएका छन् ।

जिल्लाको छेडागाड नगरपालिका–१२ र १३ का स्थानीयले कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजीवविक्रम शाह र उनको प्रचार टोलीलाई लखेटेका हुन् ।

त्यस्तै प्रदेश सभा (ख) का उम्मेदवार दिपकजंग शाहलाई पनि स्थानीयले गाउँबाट लखेटेका छन् । वाम गठबन्धनको कार्यक्रममा बाजा बजाएको भन्दै घरमै पसेर दलितमाथि कुटपिट गर्ने कार्यकर्ता र उम्मेदवारलाई गाउँबाट लखेटेको स्थानीय वीरेन्द्र रोकायले बताए ।

चुनावी प्रचार प्रसार तथा घरदैलो गर्न काकीगाउँ पुगेका उनीहरुलाई स्थानीयले कार्यक्रम गर्न नदिई नाराबाजी गर्दै लखेटेका थिए ।

दलितमाथि कुटपिट गर्ने कांग्रेस कार्यकर्ता र उम्मेदवारलाई गाउँ प्रवेश गर्न नदिने उनीहरुले बताएका छन् । गत कात्तिक ३० गते वाम गठबन्धनको कार्यक्रममा यहाँका स्थानीय कले दमाईसहितले बाजा बजाएका थिए ।

कार्यक्रममा बाजा बजाएको भन्दै कांग्रेसका कार्यकर्ताले शुक्रबार घरमै पसेर कले दमाई, पृथी दमाई र मन्दरी दमाईलाई कुटपिट गरेका थिए । आक्रोशित स्थानीयले उनीहरुलाई लखेटेर कांग्रेसको कार्यक्रमस्थलमै विरोध कार्यक्रम गरेका छन् ।

कांग्रेस कार्यकर्ताहरूले वाम गठबन्धन मुर्दाबाद नारासहितका नारा लगाउँदै घर घेरेर ‘कार्यक्रममा किन गएको तिमी ‘डुम’ हरुको लास पार्छौँ’ भन्दै कुटपिट गरेका थिए ।

उनीहरुमाथि घरभित्रै गएर लछारपछार पारेर बाँसका लठ्ठीले कुटपिट गरेको मन्दरी दमाइले बताइन् । कांग्रेसका कार्यकर्ता काशीराम रोकाय, मेघ बादी, काशीराम बादी, लालबहादुर शाही, मानबहादुर सिंह, विनोद शाही, टेकबहादुर शाही र दीप मल्ल लगायतकाले कुटपिट गरेका थिए ।

पीडितहरुले आफुलाई कार्यक्रममा सहभागी भएकै कारण कुटपिट गरिएको भन्दै जिल्ला प्रहरी कार्यलय जाजरकोटमा आइतवार उजुरी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्