दुवै रुकुमका मतदान केन्द्रमा निवार्चन टोली खटियो

0
Shares

धनवीर दाहाल, रुकुम । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि रुकुम पुर्व र रुकुम पश्चिममा मंगलबारबाट मतदान अधिकृत सहितको टोलीलाइ निर्वाचन सामग्रीका साथ मतदान केन्द्रमा खटाउने काम सुरु भएको छ । निर्वाचनको समय नजिकिंदै गर्दा जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृतको टोलीलाई निर्वाचन सामग्री प्रदान गरेर नजिक–टाढाको दुरी अनुसार खटाउन लागिएको हो । निर्वाचनका लागि रुकुम पुर्वमा ४२ मतदान केन्द्रमा र रुकुम पश्चिममा एक सय ११ मतदान केन्द्रमा खटिएर जाने निर्वाचन टोलीलाई मतदाता नामावली, मतपेटिका, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्री दिएर खटाउन लागिएको निर्वाचन कार्यालयले जनाएको छ । रुकुम पश्चिमका सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले कर्मचारीहरु उत्साहपुर्वक काममा खटिएको जानकारी दिनुभयो ।
रुकुम पुर्वको निबार्चन कार्यालयका अनुसार सबै भन्दा टाढा पुथाउत्तरगंगा गाँउपालिकामा मंगलबारबाटै कर्मचारी खटिएका छन् भने पश्चिम रुकुमको निबार्चन कार्यालयका अनुसार पहिलो दिन आठविसकोट नगरपालिका र वाँफिकोट गाउँपालिकामा खटिएर जाने निर्वाचन टोलीलाई निर्वाचन सामग्रीका साथ खटाईएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका, सानीभेरी र चौरजहारी नगरपालिकामा मंसिर ६ गते र मुसिकोट नगरपालिकाका सबै मतदान केन्द्रमा भने ७ गते निर्वाचन टोली खटाउने तयारी भईरहेको छ । यस्तै रुकुम पुर्वमा भुमे गाँउपालिका र सिस्ने गाँउपालिकामा ७ गते सम्म सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकिने छ । रुकुम पुर्वमा २७९९८ मतदाता छन् भने रुकुम पश्चिममा ८४ हजार ३२ मतदाता रहेका छन् ।