कांग्रेस कार्यकर्ताको आक्रमणमा तीन वाम कार्यकर्ता घाइते

0
Shares

नुवाकोट । नुवाकोटको फिकुरीमा कांग्रेस कार्यकर्ताहरुले वाम गठवन्धनका कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण गरेका छन् । आक्रमणमा परि तीन जना गम्भीर घाइते भएका छन् । निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा आक्रमणमा परी वामगठवन्धनका ३७ वर्षीय माधव न्यौपाने, ३८ वर्षीय उमाकान्त भट्ट र २७ वर्षीय दीपक भट्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिए । तीनै जनाको सदरमुकाममा विदुरमा रहेको नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरि कारवाही सुरु गरेको छ । सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरपश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका वडा नं. २ फिकुरीमा आइतबार राति वाम गठवन्धनको निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा एमाले तथा माओवादी कार्यकर्ताहरुमाथि बाटोमा लुकेर बसेका कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरी घाइते बनाएको प्रत्यक्षदर्शी बीरवल तामाङले जानकारी दिए ।

घटनामा संलग्न भएका दुई जनालाई नुवाकोट प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ । प्रहरीले किस्पाङ गाउँपालिका वडा नं. ३ का २३ वर्षीय सन्तबहादुर लामा र रसुवाको उत्तरगया गापा वडा नं. ३ का ३१ वर्षीय सुनिल लामालाई पक्राउ गरी कारवाही सुरु गरेको नुवाकोट प्रहरीले जनाएको छ । कच्ची सडकमा लुकेर बसेका युवाहरुले आफुहरुलाई कांग्रेस कार्यकर्ता बताउँदै भिडन्तका लागि बाटोमा बसेको जनाउंदै अपशव्द प्रयोग गर्दै लाठीभाटालगायतले निर्घात कुटपिट गरेको अस्पतालमा उपचाररत घाइते माधव न्यौपानेले बताए । आक्रमणकारीले आफुहरुलाई मार्ने नियतले कुटपिट गरेको र आक्रमण गर्दैगर्दा पछि आफ्ना उम्मेदवारहरु चढेको गाडी आएपछि कुटपिट गर्न छाडेको बताए ।