काममा दुःख भएपछि ट्राफिकलाई ४५ प्रतिशतसम्म भत्ता !

0
Shares

काठमाडौं । जनताको लागि सडकमा दैनिक १४ घन्टासम्म खटिने  ट्राफिक प्रहरीलाई खुशीको खबर छ । अब उनीहरुले ४५ प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् ।
गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने प्रस्ताव अघि बढाइएको छ । तुलनात्मक रुपमा ट्राफिक प्रहरीलाई काममा धेरै दुःख भएकाले भत्ता दिन लागिएको हो । यसअघि उनीहरुले ट्राफिक जरिवानाबापत उठेको राजस्वको १५ प्रतिशत कमिसन पाउँथे । कमिसनकै लागि ट्राफिक प्रहरीले जथाभावी कबारबाही गर्न थालेको भन्दै आलोचना भएपछि कमिसन हटाएर भत्ता दिने प्रक्रिया अघि बढाइएको हो । ट्राफिक प्रहरीलाई दिइने भत्तासम्बन्धी प्रस्ताव अर्थमन्त्रालय पुगेको छ ।
कसलाई कति प्रोत्साहन भत्ता ?
गृहको प्रस्तावअनुसार सिपाही र हवल्दारलाई तलबको ४५ प्रतिशत, सई र असइलाई ३५ तथा इन्स्पेक्टर वा सो भन्दा माथि पदका प्रहरीलाई २५ प्रतिशत भत्ता प्रस्ताव गरिएको छ । सडकमा धेरै सिपाही, हवाल्दार नै खटिने भएकाले प्रोत्साहन भत्ता अरुको भन्दा धरै प्रस्ताव गरिएको छ । सिपाहीहरुको तलब कम हुने भएकाले उनीहरुलाई धेरै प्रतिशत भत्ता राखिएको हो । जसअनुसार उनीहरुले मासिक करिब आठ हजार रुपैयाँ भत्ता पाउने छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई भत्तासम्बन्धि प्रस्ताव बनाएर प्रहरी मुख्यालय हुँदै अर्थ मन्त्रालय पठाएको हो । ट्राफिक महाशाखाका डिआईजी सर्वेन्द्र खनाल आफैं उक्त निर्णय छिटो गराउन अर्थ मन्त्रालय धाइरहेका छन् । प्रोत्साहन भत्ता पाए ट्राफिक प्रहरीलाई काममा हौसला मिल्ने उनी बताउछन् ।