भोजपु्र । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आफूलाई मार्नेगरी सुनियोजित रुपमा बम हानिएको बताएका छन् । भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार राईले बम प्रहारको घटनापछि भने,‘मलाई सिध्याउने गरी सुनियोजित रुपमा बम हानियो ।’ नेता राईमाथि भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा आज बिहान बम प्रहार गरिएको हो । बम प्रहारबाट उनी चढेको बा १५ ज ५६०८ नम्बरको ल्यान्ड रोभर गाडीको अगाडीको भाग ध्वस्त भएको छ । घटनाको प्रकृति हेर्दा नेता राईलाई मार्ने उद्देश्यले बम प्रहार गरिएको देखिएको छ । घटनापछि घटनास्थ्लबाट कुरा गर्दै नेता राईले यो घटनालाई आफूले गम्भिर रुपले लिएको बताए । उनले भने, ‘यो घटनालाई मैले गम्भिरतापूर्वके लिएको छु, मैले सानैदेखी भोजपुर र भोजपुरे जनताको सेवा गर्दै आएको छु । मेरो पहिचान र परिचय भोजपुरमा निष्कलङ्क नेताको रुपमा स्थापित छु । मैले जानेर आजसम्म गल्ती गरेको छैन । निष्ठा र इमानको साथ जनताको सेवा गरीरहेको मान्छेलाई सिध्याउने गरी बम हानेको यो घटनाले दुःखी बनाएको छ ।’ पूर्वमन्त्री राईलाई प्रदेश नम्बर एकको मुख्यमन्त्रीको रुपमा हेरिएको छ । आफूलाई तलै सिध्याउने गरी घटना घटाइएको उनले प्रतिक्रिया दिए । राईमाथि भोजपुरको टेम्के मैयुम नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बा भन्ने स्थानमा बिहान ९ बजेर ५० मिनेट जादा बम प्रहार भएको थियो । बम प्रहारपछि गोली पनि प्रहार भएको छ ।
प्रतिक्रिया