‘भ्रष्टाचारीलाई चीनमा जस्तै ठेगान लगाउँछौं’

0
Shares

काठमाडाैं ।  एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध कडारुपमा प्रस्तुत हुनुभएको छ । पूर्वाञ्चलका उद्योगपतिसँग शुक्रबार साँझ भएको भेटमा एमाले अध्यक्ष ओलीले भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुनु जरुरी भइसकेको बताउनुभएको हो ।

छिमेकी मुलुक चीनमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिइने गरेको स्मरण गर्दै ओलीले मंसिरको निर्वाचनपछि सरकारले भ्रष्टाचार अन्त्य गर्ने दाबी गर्नुभयो । भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भएपछि देशमा विकासले पनि गति लिने उहाँको जिकिर थियो ।

‘तपाईँहरु सबैजनालाई थाहा छ, को को भ्रष्ट छन् भन्ने कुरा, को को आफैँ खान्छन्, को को श्रीमतीमार्फत खान्छन् र को सालोमार्फत खान्छन्’, ओलीले भन्नुभयो, ‘‘तपाईँहरुलाई थाहा हुँदा हुँदै पनि कारबाही नहुने भएकाले तपाईहरु यसबारे केही पनि भन्नुहुन्न ।’

मंसिरको निर्वाचनपछि बन्ने सरकारले भ्रष्टाचारको अन्त्य गर्ने आश्वासन ओलीले दिनुभयो । ‘अब निर्वाचनपछि आउने सरकारले यो अवस्था राख्दैन’, ओलीको जिकिर थियो, ‘हामीले देश बनाउनुछ, त्यसकारण भ्रष्टाचार नियन्त्रणमा दृढ भएर लाग्नुको विकल्प पनि छैन।’