चुरेका ढुंगा तराईतिर

0
Shares

 

सलिम अन्सारी, प्युठान
ज्य संयन्त्रको बेवास्ताले दक्षिणी प्युठानको चुरेक्षेत्र दोहन थालिएको छ। चुरे परिभाषित क्षेत्र सरुमारानी गाउँपालिका–२ ददेरीस्थित चुरेभेगमा ढुंगा खोतलेर तस्करी गरिने गरिएको हो। स्थानीयका अनुसार ददेरीस्थित राप्ती नदीबाट निकालिएको गिटी बालुवा र ढुंगा मुख्य सडकबाटै पूर्वपश्चिम राजमार्गमा निकालिने गरिएको छ।

त्यसै गरी दर्भान र ददेरीबाट दर्भान भालुवाङ सडकखण्ड हुँदै ढुंगा निकासी हुने गरेको हो। स्थानीय ट्रइक्टर धनी र गिरोहको मिलेमतोमा सरुमारानीस्थित राप्तीको चुरे भेग सखाप पार्न थालिएको हो। नदीबाट ल्याइएको ढुंगा दर्भान ददेरी सडकखण्डका विभिन्न स्थानमा जम्मा पारेर रातको समयमा मुख्य सडक हुँदै राजमार्ग कटाउने गरिएको एक विश्वस्त स्रोतले बताएको हो। ‘धेरै समय भइसक्यो चुरेको ढुंगा निकाल्न थालिएको’, स्रोत भन्छ– ‘चोरीबाट नदीजन्य पैदावार सजिलै निकासी हुने गरेको छ।’ दर्भान ददेरी सडकखण्डमा ठूलै परिमाणमा चुरेका ढुंगा निकासीका लागि तयार पारेर राखिएको छ। यसरी जम्मा पारिएको ढुंगा बाहिरी जिल्लामा निकासी हुँदै आएको बताइन्छ। माफियाहरूले दाङ र कपिलवस्तुमा विक्री गर्दै आएका हुन्।
सरुमारानी गाउँपालिकाको १ र २ नम्बर वडाका भू–भाग चुरे पहाडमा पर्छ। चुरे क्षेत्रबाट जिल्ला विकास समितिले ढुंगा गिटी उत्खन्नलाई प्रतिबन्ध लगाएको छ। तर राज्य निकायको आँखा नपर्ने गरेका कारण यहाँको चुरे क्षेत्र दोहनका लागि गिरोहलाई फाइदा पुगेको स्थानीय बताउँछन्। ‘सम्बन्धित निकायलाई हामीले बारम्बार चुरे क्षेत्र दोहन भइरहेको बारे जानकारी गरायौं’, नाम नछाप्ने सर्तमा एक स्थानीय भन्छन्– ‘चुरे संरक्षण देखाउने दाँतजस्तो मात्र भएको छ।’ ती निकायबाट रोक्ने प्रयास नभएपछि ढुंगागिटी निकासी बढ्दै गएको छ। ढुंगा निकासी गर्दा खोलामा बाटो ट्रइक्टर जाने बाटो बनिसकेको छ। नदी नै ढुंगाविहीन हुँदासम्म पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयले गुनासो गरे। यहाँ दैनिक दर्जनौं ट्रइक्टरले चुरेको ढुंगा तथा गिटी बालुवा रातको समयमा दक्षिणतर्फ निकासी गरिरहेका छन्।

यता जिल्ला समन्वय समितिको कार्यालयले भने चुरे क्षेत्रबाट नदीजन्य पैदावार उत्तखनन गर्ने अनुमति कसैलाई पनि नदिइएको बताएको छ। राजस्व शाखा प्रमुख यामलाल पोख्रेलले यस क्षेत्रको ढुंगागिटी बालुवाको ठेक्का दिइएको भए पनि जिल्लाभित्रै खपत गर्नुपर्ने बताए। उनका अनुसार चुरे क्षेत्रबाहेकका ठाउँका लागि ठेक्का दिइएको हो। ‘त्यो पनि जिल्लाबाहिर निकासी गर्ने अधिकार दिइएको छैन।’ –उनले भने। आइइ प्रतिवेदनअनुसार क्षेत्र तोकेर ठेकेदारलाइ ढुंगा उत्खनन गर्न अनुमति दिएको समेत उनले बताए। चुरे क्षेत्रबाट ढुंगा, गिटी र बालुवा निकाल्ने कार्य अवैध भएको नायक सुब्बा पोख्रेलको भनाइ छ।