सुरक्षाका तैनाथ प्रहरीकै अगाडि देउवालाई कालो झण्डा !

0
Shares

काठमाडौं । पोखरामा अनेरास्ववियुका कार्यकर्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाएका छन् । पूर्व सांसद सूर्यबहादुर केसीसहितलाई कांग्रेस प्रवेश गराउन शनिबार पोखरा पुगेका प्रधानमन्त्री देउवालाई अनेरास्ववियु भुगोल कमिटीका नेताहरुले शिक्षा ऐन खारेजीको माग गर्दै कालो झण्डा प्रदर्शन गरेका हुन ।

देउवा पोखरा विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गर्दा पृथ्वीचोक भन्दा झण्डै ५० मिटर दक्षिणतर्फ नागढुंगास्थित होटल तिरुपतिको अगाडि अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै शिक्षा ऐन खारेज गर भन्दै नाराबाजीसमेत गरेका थिए ।

सुरक्षाका लागि तैनाथ भएका प्रहरी कै अगाडि उनीहरुले कालो झण्डा देखाएका थिए । शुरुमा पृथ्वीचोकमै कालो झण्डा देखाउन तयार भएर बसेका विद्यार्थीलाई सुरक्षाकर्मीले हस्तक्षेप गरी लखेटे पनि उनीहरु थोरै तल नागढुंगामा जम्मा भएर कालो झण्डा देखाएका थिए ।

झण्डा देखाउने क्रममा प्रहरीले अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई पक्राउ गरेको छ । १५÷२० जनाको समूहमा रहेका गौतमलाई प्रहरीले पक्राउ गरेको हो । गौतमलाई पक्राउ गर्न लागेका बेला अरु भने भागेका थिए ।