दुवै रुकुममा ९ सय ७ जना म्यादी प्रहरीमा छनोट

0
Shares

धनवीर दाहाल, रुकुम मुसिकोट । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि रुकुम पुर्व र रुकुम पश्चिममा गरी सय ७ जना म्यादी प्रहरी छनोटमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले सार्वजनिक गरेको नतिजा अनुसार पुर्वी रुकुमका लागि ३ सय १ र पश्चिम रुकुमका लागि ६ सय ६ जना म्यादी प्रहरी छनोटमा परेका हुन् । छनोट भएका मध्ये ६ सय ८१ पुरुष र २ सय २६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जानकारी दिएको छ । यस्तै १ सय ८२ जना भने वैकल्पिक सुचीमा परेका छन् ।
छनोटमा पर्न सफल म्यादी प्रहरीको आईतबार देखी नै तालिम सुरु हुने बताईएको छ । म्यादी प्रहरीका लागि पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयमा २ हजार १ सय ५१ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ४ सय ८५ जना महिला रहेका थिए । तर,अन्तिम नतिजा अनुसार २ सय २६ जना महिला मात्र म्यादी प्रहरीमा छनोट भएका छन् । यसअघि स्थानीय तहको निर्वाचनमा पुर्वी र पश्चिम रुकुमका लागि ७ सय ८५ जना म्यादी प्रहरीमा छनोट भएका थिए ।