रुकुम पश्चिमबाट नेकपा एमाले र नेकपा माओबादी केन्द्रको पार्टी एकता शुरु

0
Shares

धनवीर दाहाल
मुसिकोट, रुकुम (पश्चिम)
नेकपा एमाले र नेकपा माओबादी केन्द्र रुकुम (पश्चिम)ले जिल्ला स्तरको पार्टी एकता संयोजन समिती निमार्ण गरेका छन् । चुनावी तालमेल हुँदै भविष्यमा पार्टी एकतामा गर्ने भनि एकताबद्ध भएका बाम गठबन्धनको प्रभाव रुकुममा पनि परेको छ । रुकुमका बामपन्थी पार्टीहरु पनि पार्टी एकताका लागि तयार देखिएका छन् । शुक्रबार पार्टी एकताका लागि भन्दै नेकपा एमाले, माओवादी केन्द्रले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै पार्टी एकताका लागि आफुहरु एकजुट भएको बताएका छन् । हिजोको तीतामिठा कुराहरुलाई विर्सेर अब देश निर्माणका लागि लाग्नुपर्नेमा नेताहरुले जोड दिएका छन् । परिवर्तन र विकासका लागि आन्दोलन गर्दागर्दै नेपाली जनताहरु हैरानै भएकोले अब परिवर्तन र विकासका लागि पार्टी एकतामा लागेको नेताहरुको भनाई छ ।

कम्युनिष्ठहरु एकता हुन सक्दैनन भन्ने भ्रमलाई गलत सावित गर्दै कम्युनिष्टको निति अनुसार समाजबाद हुँदै साम्यवाद पुग्नका लागि एकताको खाँचो भएकोले पार्टी एकता गर्नै लागेको पत्रकार सम्मेलनमा बताएका छन् । उक्त पत्रकार सम्मेलनमा पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)का प्रमुख नेता एवं नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर के.सीले जनताको चाहना अनुसार पार्टी एकता प्रक्रिया सुरु भएको बताउनुभयो । कतिपयले यो निबार्चन सम्मका लागी मात्र हो भनि भ्रम छर्ने काम गरेको भन्दै पार्टी एकताका लागी आफुहरु होमिएको जानकारी दिनुभयो । रुकुममा एमालेको अस्थित्व समाप्त भयो नि भन्ने पत्रकारको जिज्ञासामा नेता के.सीले पार्टी एकता हुने भएकोले कसैको अस्थित्व समाप्त नहुने दावी गर्नुभयो । पार्टी एकता पछि एमाले वा माओबादी केन्द्र नभई एउटै कम्नियुष्ट केन्द्र बन्ने बताउनुभयो । यसै गरी एकता संयोजन समितीका प्रमुख नेता एवं माओबादी केन्द्रका रुकुम (पश्चिम) इन्चार्ज राजकुमार शर्माले अव गाँउ गाँउमा संयुक्त निबार्चन परिचालन कमिटी निमार्ण हुने जानकारी दिनुभयो ।

पार्टी एकताले जनतामा खुसी छाएको बताउनुहुँदै नेता शर्माले राष्ट्रलाई समृद्ध बनाउनका लागी एक हुनुको बिकल्प नभएको उहाँको धारणा छ । आगामी मंसिर १० गते हुने निबार्चनमा रुकुममा आफ्नो गठबन्धनले भारी मतका साथ आफ्ना उम्मेदवारलाई बिजयी बनाउने दावी गर्नुभयो । यसै गरी एकता संयोजन समितीका सदस्य बुद्धिप्रसाद शर्माले अव सबै गाँउ तथा नगरपालिका स्तरमा एकता संयोजन समिती निमार्ण हुने जानकारी दिनुभयो । यस्तै एकता संयोजन समितीका सदस्य ठगेन्द्रप्रकार पुरीले केही मान्छेहरुले एमालेले रुकुममा माओबादीलाई कसरी भोट हाल्छ भनेर जनतामा भ्रम छरेको भन्दै कुनै पनि भ्रममा नपर्न आग्रह गर्नुभयो । भबिश्यमा पार्टी एउटै हुने भएकोले अहिलेका उम्मेदवार साझा भएको ढुक्क भएर संयुक्त बाम गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सबैमा आग्रह गर्नूभयो ।

एकता संयोजन समितीमा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं रुकुम (पश्चिम) इन्चार्ज शेरबहादुर के.सी र माओबादी केन्द्रको तर्फबाट रुकुम (पश्चिम) इन्चार्ज राजकुमार शर्मालाई प्रमुख नेता मानेर एमालेबाट बिमलकुमार पुन र ठगेन्द्रप्रकाश पुरी तथा माओबादी केन्द्रबाट बसन्त शर्मा, महेन्द्र के.सी र बुद्धिप्रसाद शर्मा रहेको र आवश्यता अनुसार थपघट हुन सक्ने पत्रकार सम्मेलन जानकारी गराइएको छ । पार्टी एकता संयोजन समिती सबै स्थानिय तहमा तत्कालै गठन हुने र निबार्चन परिचालन कमिटी पनि गठन हुने जानकारी दिइएको छ ।