निर्वाचन नसर्ने पक्का पक्की, प्रत्यक्षतर्फको मतपत्र छाप्न शुरु



काठमाडौँ । मंसिर १० गते ३२ जिल्लामा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन नसर्ने पक्का भएको छ । निर्वाचन आयोगले तयार गरेको कार्यतालिका अनुसार शुक्रबारबाट भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रको प्रेसमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गर्न लागिएको हो । ‘मंसिर १० मा हुने निर्वाचन कार्यतालिकामा कुनै हेरफेर भएको छैन । आज (शुक्रबार) बाट जनक शिक्षाको प्रेसमा प्रत्यक्षतर्फको मतपत्र छाप्दैछौँ’, निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘सर्वोच्च अदालतले दिएको आदेशको पत्र हामीकहाँ आइपुगेको छैन । पत्र आइसकेपछि हामी आवश्यक निर्णय लिनेछौँ । निर्वाचनको कार्यतालिकामा भने कुनै हेरफेर हुँदैन ।’

आयोगले ३२ जिल्लामा हुने निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छापिसकेको छ । सर्वोच्च अदालतको केही दिनअघि प्रत्यक्षतर्फ दुईवटा मतपत्र छाप्ने प्रक्रियाको प्रगतिबारे आयोगलाई सोधपछि मंसिर १० को निर्वाचन हुनेमा आशंका बढेको थियो ।

बिहीबार मात्रै वाम गठबन्धनका दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त पत्रकार सम्मेलन गरेर कुनै पनि हालतमा निर्वाचन नसार्न सरकारलाई खबरदारी गरेका थिए ।

सर्वोच्च अदालतले बुधबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ अलग–अलग मतपत्र छाप्नु बाध्यकारी भन्दै यस विषयमा भएको प्रगतिबारे निर्वाचन आयोगलाई तीन दिनभित्र विवरण बुझाउन आदेश दिएको थियो । आयोगले दलहरुसँगको सहमतिअनुसार एउटै पेजमा प्रदेश र प्रतिनिधिसभाको अलगअलग मतपत्र छाप्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्