कांग्रेसका डा. शेखर कोइराला र एमालेका चर्चित पूर्वमन्त्री लालबाबु भिड्ने !

0
Shares

काठमाडौँ । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा मोरङबाट कांग्रेस र एमालेका हेभीवेट नेताबीच भिडन्त हुने सम्भावना बढेको छ ।

मोरङ क्षेत्र नं. ६ मा प्रधिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका हेभीवेट नेता भिड्न लागेका हुन् ।

नेपाली कांग्रेसले शुक्रबार डा. शेखर कोइरालालार्इ मोरङ क्षेत्र नं. ६ बाट उठाउने निर्णय गरेको छ । अर्कातिर निर्णय नगरे पनि नेकपा एमालेले त्यही क्षेत्रबाट पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलार्इ उठाउने तयारी थालेको छ ।

एमाले नेता तथा चर्चित पूर्वमन्त्री लालबाबु वाम गठबन्धनको तर्फबाट मोरङ ६ मा उम्मेदवार हुने सम्भावना बढेको छ।  वाम गठबन्धनले लालबाबुलार्इ मोरङ ६ मा उतारेमा त्यहाँको चुनावी भिडन्तलार्इ रोचकरूपमा हेरिँदैछ ।

यस्तो छ स्थानीय तहको मतपरिणाम

स्थानीय तह निर्वाचनको परिणामलार्इ केलाउने हो भने यहाँ कांग्रेस नै पहिलो दल रहेको छ । यहाँ एमाले र कांग्रेसबीच मतान्तर धेरै रहेको छ ।

तर अहिले यहाँको अवस्था फेरिएको छ । एमाले र माओवादीबीच वाम गठबन्धन भएपछि कांग्रेस पछि परेको छ । यहाँका वडाध्यक्षहरूको मत केलाउने हो भने कांग्रेसले १९ हजार ७ सय ६० मत पाएको थियो । त्यसपछि एमालेले १७ हजार ९ सय ८२ मत ल्याएको थियो ।

यस निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले स्थानी तहमा करिब ९ हजार मत ल्याएको थियो । यस हिसाबले एमाले र माओवादी केन्द्रको मत जोड्ने हो भने २६ हजार भन्दा धेरै हुन्छ । दुर्इ दल भन्दा कांग्रेस करिब ७ हजार मतले पछि परेको अवस्था छ ।

यो अवस्थामा लालबाबु र शेखरबीच भिडन्त भएमा कांग्रेसको भन्दा वाम गठबन्धनको पल्ला भारी हुने अनुमान स्थानीयले गर्न थालेका छन्।

यदि कांग्रेसले अन्य लोकतान्त्रिक शक्तिहरूसँग तालमेल नगरेमा उसलार्इ निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न फलामको चिउरा चपाउनु सरह हुनेछ । तर कांग्रेसले संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल र राप्रपाहरूसँग तालमेलको कोशिश जारी राखेकाले उसले यहाँको मत अझै बढाउने अवस्था भने बाँकी नै छ ।

मोरङ र सुनसरीमा राम्रो प्रभाव रहेका विजयकुमार गच्छदार लोकतान्त्रिक फोरमबाट कांग्रेसमा फर्किसेकाले  यहाँको मत तान्न कांग्रेसलार्इ थप सजिलो भएको छ । तर, अन्य दलसँग तालमेल गर्दा पनि कांग्रेसले कम्तिमा पनि ९ हजार मत तानेर वामगठबन्धनलार्इ पछि पार्न भने त्यति सजिलो छैन ।

कुन कुन स्थान पर्छन् त ?

यस निर्वाचन क्षेत्रमा सुन्दरहरैँचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बूढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको ४ देखि ७ तथा ९, ११ र १२ वडा रहेका छन् ।