मध्यपहाडी लोकमार्गका पुल निमार्ण लथालिङ्ग

0
Shares

धनवीर दाहाल, मुसिकोट, रुकुम (पश्चिम)
मध्यपहाडी लोकमार्ग अन्र्तगत रुकुम चौरजहारी सडक खण्डको विभिन्न ठाउँमा निर्माणाधिन मोटरेबल पुलको काममा ढिलाई भएको छ । पुल निर्माण गर्ने जिम्मा लिएको ठेकेदारको बद्मासी र लापर्बाहीका कारण मोटरेबल पुल निर्माणमा ढिलाई भएको हो । ३ वर्ष अघि सानोभेरी गाउँपालिका वडा नंं.२ को सिस्नेखोला र वडा नं.७ को सरखोलामा मोटरेबल पुल निर्माणको काम संचालन गरिएको थियो । तर,३ वर्ष बितिसक्दा पनि ठेकेदारलेसमयमै पुल निर्माण नगरेकाले निर्माणाधिन मोटरेबल पुलको काम अलपत्र अवस्थामा पुगेको छ । मोटरेबल पुल निर्माणको काम हालसम्म नसकिएकाले मध्यपहाडी लोकमार्ग सडकखण्ड विस्तार गर्ने काममा समेत समस्या भएको छ । केही समयपछि सो सडकखण्डलाई ओटासिल गर्ने बताईएपनि ठाँउ–ठाउँमा बन्दै गरेका निर्मानाधिन पुलको अलपत्र कामले थप समस्या हुने देखिएको छ । लामो समयसम्म पुल निर्माणको काममा ठेकेदारले लार्पवाही गर्दा पनि सम्बन्धित निकायले कुनैपनि चासो नदेखाएकाले निर्माणधिन मोटरेबल पुलको केही काम पनि खेर जाने अवस्थामा रहेको स्थानीयले बताएका छन् । पुल निर्माणका लागि भन्दै यसअघि नै खरिद गरिएका गिठ्ठी, बालुवा, सरिया लगायतका अन्य सामग्रीहरु समेत सडक छेउमै यत्रतत्र रुपमा छोडिएको छ । कुनै पनि काम नलाग्ने जस्तो गरी फालिएका सामाग्रीले बाटो हिड्ने बटुवालाई समेत अप्ठेरो पर्ने गरेको छ ।
यसै गरी ग्रामिण सडक अन्र्तगत रुकुम (पश्चिम)को सदरमुकाम रहेको मुसिकोट नगरपालिका वडा नं १ र बाँफिकोट गाँउपालिका वडा नंं. १० लाई जोड्ने गाँराघाट मोटरेवल पुल निर्माणको काममा ढिलाई भएको छ । गत असार देखी रोकिएको मोटरेवल पुलको काममा ढिलाई हुँदा यो क्षेत्रका सर्वसाधारण चिन्तित् बनेका छन् । मोटरेवल पुल निर्माणको जिम्मा लिएको ठेकेदारले वर्खा लागेको भन्दै काम रोकेपछि पुल निर्माणको काम अझै सुरु नगरेको स्थानीयले बताएका छन् । ढिलाई भईरहेको पुल निर्माणको काम सुरु नभएपछि तोकिएको समय अवधिभित्र काम सम्पन्न नहुने अवस्थामा पुगेको छ । पश्चिम रुकुमको मुख्य व्यापारिक केन्द्र मानिएको छिन्खेत, राडीबजार हुँदै डोल्पासम्मको सडक यातायात सेवालाई जोड्ने गरी सोे मोटरेवल पुलको काम सुरु गरिएको थियो । तर काम रोकिएको ५ महिना बितिसक्दा पनि हाल सम्म मोटरेवल पुलको काम पुनः सुचारु नभएपछि स्थानीयबासी मर्कामा परेका छन् । यसअघि यस क्षेत्रका नागरिकहरुले मोटरेवल पुलको व्यवस्था गरिदिन माग गर्दै पटक–पटक आन्दोलन समेत गरेका थिए । २०३२ सालदेखी हालसम्म संचालनमा रहेको गाँराघाट बजारको झोलुंगे पुलको अवस्था समेत जिर्ण बनेकाले यहाँका स्थानीयलाई थप आवातजावतमा समस्या हुने गरेको छ ।