प्रधानमन्त्री देउवाद्वारा चिनियाँ नेता सीलाई बधाइ ज्ञापन


काठमाडौं  । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय कंग्रेस सफलतापूर्वक सम्पन्न भएकामा र पार्टी महासचिव पदमा पुनःनिर्वाचित भएकामा जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई बुधबार बधाइ ज्ञापन गरेका छन् ।बधाइ सन्देशमा प्रधानमन्त्री देउवाले ‘सीको महासचिव पदमा दोस्रोपटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उनको गतिशील नेतृत्वप्रति दर्शाएको ठूलो विश्वासको संकेत हो’–भनेका छन् ।

चिनियाँ जनताको सामाजिक–आर्थिक तथा प्रविधिगत विकास र जीवनस्तर सुधारमा चीनले अभूतपूर्व प्रगति हासिल गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले ‘सम्पूर्ण मानवका लागि साझा गन्तव्य पछ्याएका विश्व समुदाय’ र आर्थिक समृद्धिका लागि राष्ट्रहरुबीच बृहत्तर सहयोगबारेको चिनियाँ नेता सीको दृष्टिकोणको सराहना गरेका छन् ।

आउँदा दिन नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध पक्षबाट झांगिँदै जाने र नयाँ उचाइमा पुग्ने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गरेका छन् ।