कांग्रेसले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनाैट थाल्याे


काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टीका उम्मेदवार तय गर्न छलफल तीव्र बनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय संसदीय समिति बैठकमा जिल्लाबाट सिफारिश भइआएका सूचीमध्येबाट उम्मेदवार बनाउने गरी छलफल प्रारम्भ भएको नेता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकमा चुनावी तालमेल गर्ने दलसँग आवश्यक परामर्श गरी व्यवस्थापन गरिनेबारेमा समेत छलफल भएको छ । आगामी मंसिर १० गते हुने निर्वाचनका लागि यही कात्तिक ५ गते दलहरुले मनोनयन दर्ता गरिसकेका छन् भने मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता गर्ने निर्वाचन तालिका छ । पार्टीले आसन्न निर्वाचनको तयारीका लागि नेता बालकृष्ण खाँडको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरिसकेको छ । निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गरी अन्तिम रुप दिइएको छ ।