त्रासमै उपचार गराउँछ आनन्दवन अस्पताल

0
Shares

 

सुरेश तामाङ, ललितपुर
गोदावरी नगरपालिकामा अवस्थित आनन्दवन अस्पतालले त्रासमै बिरामीको उपचार गराइरहेको छ। अस्पताल परिसरमा रहेका जीर्ण रूख काट्ने अनुमति नपाउँदा अस्पतालले जोमिखका साथ बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ।

२ दर्जनभन्दा बढी वर्षौं पुराना सल्लाका रूख बिरामी राख्ने भवनभन्दा माथि छन्। अधिकांश रूख हावाहुरीले जुनसुकै बेला भाँच्ने अवस्थाका भएकाले मानवीय र भौतिक क्षतिको उच्च सम्भावना रहेको अस्पताल प्रशासनले जनाएको छ। ‘हरियाली कायम राख्न रूख विरुवाको ठूलो महत्त्व रहन्छ, तर यहाँका रूख वर्षौं पुराना छन्’, सो अस्पतालका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘धेरै रुख जुनसुकै बेला भाँचिने अवस्थाका छन्।’

ती अधिकारीका अनुसार अस्पतालले विगत २ वर्ष अघिदेखि जिल्ला वन कार्यालयलाई समस्या अवगत गराउँदै आएको छ, तर सुनुवाइ भएको छैन। जिल्ला वनले वन विभाग र विभागले वन मन्त्राललाई देखाउँदै जिम्मेवारीबाट पन्छिएको अस्पतालका अधिकारीहरूको आरोप छ। लेप्रोसी मिसन इन्टरनेसनलको आर्थिक सहयोगमा २०१४ सालमा स्थापना भएको यो मुलुककै पुरानो कुष्ठरोग अस्पताल हो।

कुष्ठरोग उपचार र अनुसन्धानमा छुट्टै पहिचान बनाएको यो अस्पतालमा अन्य स्वास्थ्य सेवासमेत उपलब्ध छन्। तर जोखिमपूर्ण अवस्थामा रहेका रूखका कारण अस्पताल पुग्ने सेवाग्राही, चिकित्सक र कर्मचारीलाई भने ढुक्क हुने अवस्था देखिँदैन। सल्लै सल्लाका रूखका बीचमा रहेको यो अस्पतालमा ५ वर्षअघि केही रूख भाँचिदा केही सेवाग्राही घाइतेसमेत भएका थिए। पटक–पटक ध्यानाकर्षण गराउँदा सरकारी निकायले यो समस्यालाई गम्भीरतापूर्वक नलिएको गोदावरी नगरपालिका–६ का वडा सदस्य गम्भीरबहादुर राना बताउनुहुन्छ।

यसबारेमा जिज्ञासा राख्दा इलाका वन कार्यालय लेलेका सहायक वन अधिकृत पशुपति दाहालले रूख कटानको सिजन नभएकाले अस्पताललाई रूख काट्ने अनुमति नदिएको जानकारी आफूलाई आएको बताउनुभयो। ‘प्रत्येक वर्षको कात्तिक १५ देखि रूख काट्ने अनुमति दिइने भएकाले त्यसपछि यो समस्या समाधान हुने मेरो विश्वास छ’ –उहाँले भन्नुभयो।