किम नाम हत्याकाण्डमा थप सूचना


 

शाह आलम, मलेसिया, (एजेन्सी)
एक जना मलेसियाली प्रहरी अधिकारीले बिहीबार अदालतसमक्ष उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी भाइ किम नामको हत्यामा संलग्न रहेको अभियोगमा मुद्दा खेपिरहेका दुई जना महिलालाई मलेसियाको विमानस्थलको सुरक्षा क्यामेरामा अन्य दुईजना पुरुषसँग देखिएको र तिनीहरुले नै ती महिलालाई किमलाई मार्न भिएक्स नर्भ एजेन्ट दिएको हुनुपर्ने बयान दिएका छन्।

अदालतमा पेस गरिएको भिडियो फुटेजमा आशंकित अभियुक्त भियतनामी दोन थि हुओङलाई विमानस्थलमा वेसबल क्याप लगाएका एक पुरुषसँग हिँडिरहेको देखिन्छिन्। त्यस्तैगरी सोही फुटेजमा अर्की आशंकित इन्डोनेसियाली अभियुक्त सिती आइसालाई पनि आक्रमणको केही समयअघि विमानस्थलको क्याफेमा टोपी नै लगाएका अर्का एक पुरुषसँग देखिन्छिन्।

गत १३ फेब्रुअरीमा मलेसियाको राजधानी क्वालालम्पुर विमानस्थलको निकै व्यस्त प्रस्थानकक्षमा किम नाममाथि प्राणघातक आक्रमण भएको थियो। तर फुटेजमा ती दुवै पुरुषको अनुहार स्पष्ट देखिँदैन। त्यतिबेला किम नामको हत्यामा उत्तर कोरियाकै हात हुनुपर्ने आरोप अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लगाएको थियो। तर उत्तर कोरियाले सो आरोप ठाडै अस्वीकार गरेको थियो।