नरभक्षी बघिनी मार्ने अदालती आदेशी


 

नयाँ दिल्ली, (एजेन्सी)
पश्चिमी भारतीय राज्य महाराष्ट्रको एक अदालतले चारजना मानिस मारिसकेकी एउटी बघिनीलाई गोली हानी मार्ने आदेशको समर्थन गरेको छ।

गत २३ जुनमा राज्यको वन विभागले ती बघिनीलाई गोली हानी मार्न दिएको आदेशलाई वन्यजन्ुत संरक्षण अभियन्ताहरूले कानुनी चुनौती दिएका थिए। महाराष्ट्रको ब्रह्मपुरी शहरमा दुईजना व्यक्तिको ज्यान लिनुका साथ अन्य दुई जनालाई घाइते बनाएपछि गत जुलाईमा पहिलो पटक यस बघिनीलाई नियन्त्रणमा लिइएको थियो। बोर बाघ आरक्षण केन्द्रमा छोडिएपछि त्यसले फेरि दुईजना मानिसको ज्यान लिएको थियो। ती बघिनीको हत्याको विरोध गर्ने अभियन्ता डा. जेर्रील बानिटले अदालतको यस निर्णयविरुद्ध आफूले भारतको सर्वोच्च अदालतमा अपिल गर्ने बीबीसीलाई जानकारी गराएका छन्। यसैगरी जनावर अधिकारवादीहरूले पनि तिनलाई लठ्याउने औषधि प्रयोग गरी अर्को स्थानमा लगिनुपर्ने उपाय सुझाएका छन्।

वन अधिकारीहरूले गत २९ जुलाईमा आरक्षणमा प्रवेश गरेयता काला नामक उक्त बघिनी ५ सय किमिभन्दा लामो भागमा विचरण गर्ने गरेको पाइएको जानकारी दिएका छन्। विश्वकै कुल बाघको ६० प्रतिशत संख्या भारतमै रहेको छ। परम्परागत चिनियाँ औषधि उपचार प्रविधिमा बाघको शरीरका भागहरू प्रयोग गरिने हुनाले शिकारीहरूले तिनीहरूलाई मार्ने गरेका छन्। पछिल्ला वर्षहरूमा भारतमा बाघको मृत्युदर बढ्दै गएको छ। भारतीय अधिकारीहरूले सन् २०१५ मा ८० वटा बाघ मरेको जानकारी दिएका थिए भने त्यसको अघिल्लो वर्षमा ७८ वटा बाघ मरेका थिए।