मुख्यमन्त्रीको तलब ६४ हजार



 

नेपाल समाचारपत्र
काठमाडौं
प्रदेश प्रमुखहरूले मासिक ६४ हजार तलब पाउने भएका छन् भने मासिक रूपमा ४० हजार अतिथि सत्कारका लागि पाउनेछन्।
व्यवस्थापिका संसद्को शुक्रबारको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। उक्त विधेयकअनुसार प्रदेश प्रमुखलाई सरकारी आवास र गाडी तथा सचिवालयसहितको सुविधा दिइएको छ। विधेयकमा मासिक ६४ हजार पारिश्रमिक, ४० हजार अतिथिसत्कार खर्च र वार्षिक १८ हजार रुपियाँ पोसाक भत्ता पाउने व्यवस्था गरिएको छ।

प्रदेश प्रमुखलाई १५ लाख रुपियाँको बीमा सुविधा दिइएको छ भने भ्रमण भत्तामा स्वेदशभित्र दैनिक ३ हजार रुपियाँ र विदेशमा ३ सय अमेरिकी डलर दिने व्यवस्था गरिएको छ। प्रदेश प्रमुखले एक दर्जन कर्मचारीसहितको सचिवालय राख्न पाउनेछन् भने निजी चिकित्सक तथा विज्ञ पनि नियुक्त गर्न पाउनेछन्।

यसै गरी शुक्रबारकै बैठकले भाषा आयोग विधेयक सर्वसम्मतिले पारित गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले पेस गर्नुभएको सो विधेयकमाथि १४ वटा संशोधन प्रस्ताव परेको थियो। राष्ट्रभाषाको स्पष्ट व्याख्या गर्नुपर्ने, आयोगलाई तीन महिला सदस्यसहित ११ सदस्यीय बनाउनुपर्ने र कावा अध्यक्ष तोक्दा अध्यक्षले तोक्ने व्यवस्था हुनुपर्ने माग गरिएको थियो। आयोग गठन भएको १३ महिनापछि भाषा आयोगको काम, कर्तव्य र क्षेत्राधिकारमाथिको ऐन संसद्ले पारित गरेको छ। यस्तै बैठकमा संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको प्रतिवेदन प्रस्तुत भएको छ।

चालू अधिवेशनमा अनुपस्थित हुने सांसदको सूची
संसद्को चालू अधिवेशनमा लगातार दश दिनसम्म अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरिएको छ। व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम २२० को उपनियम (४) बमोजिम अनुपस्थित सांसदहरूको सूची सभामुखले प्रस्तुत गर्नुभएको हो।
सभामुखले प्रस्तुत गर्नुभएको सूचीमा विविध कारण लगातार १० दिनभन्दा बढी २३ जना सांसद अनुपस्थित भए। बैठकमा सबभन्दा बढी अनुपस्थित सांसदमध्ये रामकुमार सुब्बा ३१ पटक, दुर्गा पौडेल २८, डा. बाबुराम पोखरेल २७ र सूर्यकुमार शिवाकोटी १९ पटक छन्।

यसै गरी सुजाता परियार १०, भक्तबहादुर विक खपाङ्गी १०, प्रदीप गिरी ११, विष्णुप्रसाद पौडेल ११, बिलनकुमारी राजवंशी ११, रुक्मिणी चौधरी १२, जयन्त चन्द १९, श्रवणकुमार अग्रवाल ११, हरिबहादुर राजवंशी ११, गौरीकुमारी ओली ११, कल्पनादेवी महतो ११, कविताकुमारी सरदार १२, धनबहादुर घले ११, रवीन्द्रप्रताप शाह ११, कुलबहादुर गुरुङ १३, डिल्लीप्रसाद काफ्ले १९, नरहरि आचार्य ११, प्रभुनारायण चौधरी ११, अनिलकुमार यादव १२ पटक संसद् बैठकमा अनुपस्थित हुनुभयो।
संसद्को अन्तिम बैठक शुक्रबार हुने भनिए पनि प्रमुख नेताहरूको सम्बोधनका लागि संसद्को विशेष बैठक शनिबार पनि बोलाइएको छ।

सभामुख मगरले संसद्को अन्तिम बैठक शनिबार ३ बजेका लागि बोलाउनुभएको छ। त्यसअघि २ बजे कर्मचारीसहितको फोटो खिच्ने कार्यक्रम रहेको छ। शनिबार नेताहरूको सम्बोधनपछि भोजको आयोजना गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्