‘मन्त्रिपरिषद् विस्तारको निर्णय नसच्याए आयोगको औचित्य छैन’

0
Shares

 

काठमाडौं, (नेस)
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताविपरीत गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय निर्वाचन आयोगले सच्याउनुपर्ने बताएको छ। प्रधानमन्त्रीले निर्वाचन आचारसंहिताप्रति हस्ताक्षरण गरेको मसी सुक्न नपाउँदै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय पराकाष्ठा भएको बताएको हो।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीको निर्णय आचारसंहिताविपरीत भएको बताउँदै यसभन्दा अघि पटकपटक निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार नगर्न सचेत गराउँदा पनि अहिले आएर अटेर गरेको प्रक्रिया दिनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘निर्वाचन आयोगले पछिल्लो चरणमा दुई जना राज्यमन्त्री थप्ने निर्णय पनि सच्याउने निर्देशन दिएको छ, तीन दलको बैठकमा आचारसंहिताविपरीतको कुनै पनि काम नगर्ने सहमति भएको थियो, प्रधानमन्त्रीले शुक्रबार निर्वाचन आयोगमा पुगेरै प्रतिबद्धता जनाउँदै हस्ताक्षर पनि गर्नुभएको हो।’

प्रधानमन्त्रीले लिएको निर्णय पराकाष्ठा भएको उल्लेख गर्दै उहाँले अब निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारलाई बदर गर्नुपर्ने आफूहरूको माग रहेको बताउनुभयो। ‘निर्वाचन आयोगले आचारसंहिताविपरीत काम हो भनेर भनी नै सक्यो, आदेश दिँदादिँदै सरकार विस्तार भएको छ, तुरुन्तै निर्वाचन अयोगले बदर गरिदिनुपर्छ, यसमा कुनै विवाद छैन, गलत कदमलाई बदर गर्ने निर्वाचन आयोगको अधिकार हो’, नेम्वाङले भन्नुभयो– ‘निर्वाचन आयोगले कदम चाल्नुपर्छ, निर्वाचन आयोगले हेरेर बस्नुहुँदैन, होइन भने निर्वाचन आयोग निरीह सावित हुन्छ, आयोगले निर्वाचन पनि गराउन सक्दैन।’

माओवादीले आज धारणा सार्वजनिक गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका मन्त्रीलाई हटाउने उद्देश्यको साथ निर्वाचन आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार गरेकोप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ। आफ्नो पार्टीसँग कुनै परामर्श नै नगरी निर्वाचन आचारसंहिता विपरीत मन्त्रीपरिषद् विस्तार गरेकोप्रति माओवादी केन्द्रले आपत्ति जनाएको हो।