कांग्रेसले समानुपातिकको नाम टुंगायो

0
Shares

 

काठमाडौं, (नेस)आगामी मंसिर १० र २१ हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फको उम्मेदवार तय गरिसकेको जनाएको छ। कांग्रेस संसदीय समितिले प्रत्यक्षतर्फको उम्मेदवारको चयन भने अझै केही दिन पछि मात्र गरिने बताइएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिएका थिए। निर्वाचन आयोगमा बुझाउनका लागि समानुपातिकतर्फको उम्मेदवारको टुंगो लगाइसकिएको छ।

प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो भने निर्वाचन आयोगमा समानुपातिकको लिस्ट बुझाएपछि लगाइने भएको छ।प्रत्यक्षतर्फको उम्मेदवारका लागि पनि जिल्लाबाट सिफारिससहित नाम लिस्ट प्राप्त भइसकेको पनि मुख्य सचिव पौडेलले बताउनुभयो।

हालै बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले हिजो शुक्रबारसम्म प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार टुंगो लगाउने निर्णय गरेको थियो। कांग्रेसले उम्मेदवार तय गर्न तीन दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा १७ सदस्यीय संसदीय समिति पनि गठन गरेको थियो।