एनआरएनएमा त्रिपक्षीय भिडन्तको तयारी

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए) का आठौं विश्व सम्मेलन एवम् महाधिवेशनले आगामी दुई वर्षे कार्यकालका निम्ति नयाँ नेतृत्व चयन गर्दै छ। शनिबारबाट काठमाडौं शुरू हुने उक्त महाधिवेशनमा तीन जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्ष वर्तमान कार्यसमितिका उपाध्यक्ष भवन भट्ट, सल्लाहकार टीबी कार्की र वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुना गुरुङले उम्मेदवारी घोषणा गरेका छन्।

अध्यक्ष पदका उम्मेदवार भवन भट्टले दशैं अघि नै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका थिए। भट्टले आफ्ना एजेन्डामा दोहारो नागरिकता कार्यान्वयनका लागि निर्माण हुने ऐन नियममा नागरिकको संवैधानिक नैसर्गिक अधिकार हनन् नहुने गरी व्याख्या तथा संविधानको संशोधनमा यसलाई सच्याउनुका निमित्त संगठित रूपमा पहल गर्ने बताएका छन्।

एनआरएनएले लाप्राकका भूकम्पपीडितका लागि १ हजार घरको नमुना बस्ती बनाउन गरेको प्रतिबद्धता पूरा गर्ने, पुनर्निर्नर्माणको सच्चा साझेदारको बन्ने, ओझेलमा परेको नेपालका आर्थिक समृद्धिका एजेन्डालाई अघि बढाउन, संघको आफ्नै भवन बनाउने प्रक्रिया शुरु गरिसकेकोमा त्यसलाई सफलताका साथ सम्पन्न गर्ने जनाएका छन्।
त्यस्तै नेपालको भौतिक पूर्वाधार विकासका लागि वैदेशिक लगानी भित्र्याउन, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने तथा पर्यटन विकासका क्षेत्रमा थप प्रतिबद्ध भएर लाग्ने, विगतका कार्यकालमा शुरु भएका असल कामलाई निरन्तरता दिँंदै एनआरएनएको संस्थागत विकासका लागि सक्रिय रहने भट्टले जनाएका छन्।

वैदेशिक रोजगारी आपत्कालीन कोषलाई सदुपयोग गरी गैरआवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गरिने, महिला फोरमलाई सशक्त बनाइने, स्टार्ट अप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउने, सामाजिक उद्यमशीतालाई प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता वृद्धि गर्ने एजेन्डालाई अगाडि सारेका छन्।

त्यस्तै अर्का प्रत्याशी टीबी कार्कीले गैरआवसीय नेपाली संघको निर्माणाधीन भवन एक वर्षभित्र सम्पन्न गर्ने, एनआरएनएको कोषको स्थापना गरी राहत को व्यवस्था गर्दै गैरआवासीय नेपालीको परिवारलाई रोजगारीको अवसर प्रदान गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, एनआरएनएको अभियानलाई व्यवस्थित गर्दै अलग कार्यदल बनाई ठोस योजनासहित कार्यसम्पादनमा जोड दिने, कल्याणकारी कोषलाई मजबुत बनाई न्यूनतम २० करोडसम्मको अक्षयकोष स्थापनामा जोड दिने, निर्वाचन प्रक्रियामा गैरआवसीय नेपालीको मताधिकारको व्यवस्था सुनिश्चित गर्न पहल गर्ने।

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीलाई बैंकबाट ऋण सहज ढंगबाट उपलब्ध गराई आत्म स्वाभलम्बी बनाउन प्रयत्न गर्ने, राष्ट्रिय महत्व बोकेका विभिन्न कलकारखाना तथा पूर्वाधार निमार्णमा राज्यसँग समन्वय गर्दै गैरआवसीय नेपालीको विशेष पहलमा सञ्चालनमा ल्याउन पहल गर्ने एजेन्डा अघि सारेका छन्।

बिहीबार पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गर्नु भएकी जमुना गुरुङले गैरआवासीय नेपालीको माग र अपेक्षालाई पूरा गर्ने, गैरआवासीय नेपाली संघका मुख्य स्टेक होल्डरको विश्वास र अपेक्षालाई निरन्तरता दिने, महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रूपमा स्थापित गर्न, गैरआवासीय नेपाली संघलाई समय सापेक्ष परिवर्तन र विकास गर्दै सामूहिक नेतृत्वको अवधारणाअन्तर्गत चुस्त र सक्षम नेतृत्व प्रदान गर्ने, गैरआवासीय नेपाली संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवम् कुटनीतिकस्तरमा अझ पारदर्शीरूपमा विकास गर्ने एजेन्डा अगाडि सार्नु भएको छ।

त्यस्तै एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनालाई समय सिमाभित्र सम्पन्न गराउन, संस्थाको मार्गदर्शक दृष्टिकोण ‘भिजन २०२० एन्ड बियोन्ड’ लाई सफल कार्यान्वयन गर्ने,एनआरएनएका हरेक एनसीसीलाई आर्थिक कुटनीतिकको भूमिका निर्वाह गर्न र नेपाललाई समृद्धिको बाटोमा इँटा थप्ने काममा प्रोत्साहित गर्ने, सरकारका विभिन्न निकाय, सरकारी एवम् गैरसरकारी संस्थँसँग संघले गरेको सम्झौतालाई कार्यान्वयन गर्ने एजेन्डा अगाडि सार्नुभएको छ।