दलाइ लामा अमेरिकाप्रति चिन्तित


 

नयाँ दिल्ली, (एजेन्सी)
भारतमा निर्वासित जीवन बिताउँदै गरेका तिब्बती धार्मिक नेता दलाइ लामाले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका कुन दिशामा जाने हो भन्नेबारे चिन्ता व्यक्त गरेका छन् । ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीति नरुचाएका दलाइ लामाले अमेरिका थप ‘मतलबी’ र ‘राष्ट्रवादी’ मुलुक बन्दै गइरहेको भन्दै चिन्ता पाखेका हुन् ।

उत्तरी भारत आफ्ना तिब्बती समर्थकहरुको सम्मेलनमा आध्यात्मिक नेता लामाले अमेरिकाले स्वतन्त्र विश्वको नेताको भूमिका निभाइरहे पनि आफूलाई अमेरिकाको बारे चिन्ता लागेको बताएको दि वासिंगटन पोस्टले जनाएको छ ।

युद्ध विरोधी र वातावरण तथा मानव अधिकारका समर्थकका रूपमा चिनिने ८२ वर्षीय दलाइ लामाले सो सम्मेलनमा विविध विषयमा बोलेका थिए । उनले अमेरिका फस्र्ट भन्ने नीति आफ्नो कानलाई त्यति नरुचेको बताएका हुन् ।

सन् २०१६ मा रिपब्लिकनबाट राष्ट्रपतीय चुनावमा यही नीतिलाई चुनावी नारा बनाएका थिए । विश्वको तापक्रम वृद्धि र अन्तर्राष्ट्रिय समस्याहरु सुल्झाउन राष्ट्रहरुले सैनिक बल प्रयोग गर्नुपर्ने अमेरिकी धारणाप्रति आफूलाई चित्त नबुझेको दलाइ लामाले बताएका छन् ।

उनले ट्रम्पले इकोलोजीमाथि गम्भीर ध्यान नपुर्याएको र जलावायु परिवर्तन विषय सीमा र धर्मभन्दा महत्त्वपूर्ण कुरा भएको विचार व्यक्त गरेका छन् । तर उनले अमेरिकी जनताले निर्वाचित गरेका राष्ट्रपतिलाई आफूले पनि सम्मान गर्नुपर्ने पनि बताएका छन् । उनले यसका बाबजुद पनि अमेरिकी कंग्रेस र जनताले तिब्बत र मानव अधिकारको समर्थन गर्ने गरेको र आफूलाई यो समर्थनले निरन्तरता पाउने जस्तो लागेको पनि बताएका छन् ।