संसद्को कार्यकाल आज सकिँदै



 

काठमाडौं, (नेस)
संविधानअनुसार रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल आज शुक्रबार सकिँदै छ। सभामुख ओनसरी घर्ती मगर पनि संसद् बैठकलाई अन्तिम बैठक बनाउने पक्षमा हुनुहुन्छ। तर प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरू अलमलमा परेका देखिन्छन्। संविधानको धारा २९६(१)को संक्रमणकालीन व्यवस्थाअनुसार समय सीमा अगावै निर्वाचन भए मनोनयनको अघिल्लो दिनसम्म मात्र संसद् रहने व्यवस्था गरेको छ।
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्द सूची असोज २९ गते बुझाउने भएकाले एक दिन अघिदेखि नै संसद् स्वतः अन्त्य गर्नुपर्ने हुन्छ। तर २८ गते शनिबार परेकाले २७ गते नै अन्तिम बैठक हुनेछ। आज शुक्रबारको बैठक अन्तिम गर्ने विषयमा सभामुख लाग्नुभएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताउनुभयो।

शर्माले संविधानको व्यवस्थाअनुसार सभामुखले शुक्रबारको बैठकपछि संसद् अन्त्य गर्ने तयारी गर्नुभएको जानकारी दिनुभयो। यता नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘संविधानअनुसार २७ गते नै संसद् स्वतः बन्द हुने तर कात्तिक ४ गतेसम्म चले राम्रो हुने थियो।’

श्रेष्ठले भन्नुभयो– ‘अन्य दलले कार्तिक ४ गते संसद् बैठक चलाउने पक्षमा छन।तर कसैले न्यायालयमा मुद्दा हाले भने संसद्को कार्यमाथि प्रश्न उठन सक्छ।’

नेकपा एमाले पनि कार्तिक ४ गतेसम्म संसद् चलाउने पक्षमा देखिएको छ। बुधबार नै सभामुख घर्तीले संसद् सचिवालयसँग छलफल गरेर शुक्रबार नै संसद्को अन्तिम बैठक हुने बताउनुभएको थियो। यता राज्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूले लोगो लगायतको सुविधाको माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्