क्याटालोनियाको स्वतन्त्रता घोषणा टर्यो


 

बार्सिलोना, (एजेन्सी)
स्पेनको उत्तरपूर्वी स्वायत्त क्षेत्र क्याटालोनियाका राष्ट्रपति काल्र्स पुजिमोन्टले स्थानीय संसद्लाई गरेको बहुप्रतीक्षित सम्बोधनमा स्वतन्त्र राष्ट्र बनेको घोषण नगरेको जनाइएको छ।

पुजिमोन्टको सम्बोधनले संसद्बाट क्याटालोनियालाई स्वतन्त्र देश घोषणा गर्छ भन्ने अपेक्षा गरिएको थियो। राष्ट्रपति पुजिमोन्टले स्वतन्त्र क्याटोलोनियाका पक्षमा प्राप्त जनमत संग्रहको पालना गरिने, तर समस्या समाधानका लागि पहिला स्पेनसँग कुराकानी आवश्यक भएको बताए। उनले क्याटालोनियाका नागरिकसँग शान्तिपूर्ण प्रदर्शनका लागि पनि अपिल गरे। पुजिमोन्टले सबै पक्षसँग तनाब कम गर्न पनि आग्रह गरे।
पुजिमोन्टले भने– ‘क्याटालोनियाले स्वतन्त्र देश बन्ने अधिकार हासिल गरेको छ। म क्याटालोनियाका नागरिकहरूको स्वतन्त्र देशको चाहनाको साथमा हुनेछु।’

राष्ट्रपति पुजिमोन्टले नागरिकलाई लोकतन्त्रको पक्षमा उभिन र शान्तिका लागि अपिल गरे। क्याटोलोनियाको अलग्ग देश बनाउने मसलामा तनाब कम गर्न आवश्यक रहेको पुजिमोन्टले बताए। उनले यसका लागि संवादको आवश्यकतामा पनि जोड दिए।

स्थानीय संसद्लाई सम्बोन्धित गर्दै पुजिमोन्टले क्याटालोनिया अब कुनै आन्तरिक मुद्दा नभई युरोपकै मुद्दा भइसकेको बताए। उनले आफू कुनै प्रकारको खतरा बन्ने वा कसैलाई अपमानित गर्ने आफ्नो योजना नभएको पनि थपे।

जनमत संग्रहका क्रममा स्पेनिस सरकारको कारबाहीको निन्दा गर्दै पुजिमोन्टले सबै पक्षका सम्बद्ध व्यक्ति तनाबलाई लिएर चिन्तित रहेको बताए। संवाद र सहिष्णुताका लागि अपिल गर्दै पुजिमोन्टले स्पेनिस सरकारमाथि आक्रामक रवैया अपनाएको र शक्ति केन्द्रीकरणको आरोप लगाए।

पुजिमोन्टको उक्त सम्बोधनलाई लिएर क्याटोलोनियामा व्यापक कुतूहलता थियो। यदि क्याटालोनियाको स्वतन्त्रताको घोषणा गरेको भए हिंस्रक तनाब बढ्ने आशंका गरिएको थियो।

क्याटालोनियाको इतिहास

क्याटालोनिया स्पेनको सबैभन्दा सम्पन्न क्षेत्रमध्येको एक हो। उक्त राज्यको एक हजार वर्ष पुरोनो अलग्गै इतिहास रहेको छ। स्पेनमा गृहयुद्धअगाडि नै यस क्षेत्रलाई स्वायत्तता प्राप्त भएको थियो। सन् १९३७ देखि १९७५ बीच जनरल फ्रान्सिस्को फ्रान्कोको नेतृत्वले क्याटालोनियाको स्वायत्तता खोसेका थिए।

फ्रान्कोको मृत्युपछि क्याटालन राष्ट्रवादको आवाज पुनः उठ्न थाल्यो। अन्त्यतः उक्त उत्तरपूर्वी क्षेत्रले पुनः स्वायत्तता हासिल गर्यो। उक्त व्यवस्था सन् १९७८ को संविधानअनुसार गरिएको थियो। सन् २००६ मा एक अधिनियम अनुरूप क्याटालोनियालाई थप शक्ति दिएको थियो।
क्याटालोनियाको आर्थिक प्रभुत्व बढ्यो र उसलाई एक राष्ट्रका रूपमा हेरिन थाल्यो। तर यो धेरै दिन तिक्न सकेन। स्पेनको संवैधानिक अदालतले सन् २०१० मा सबै अधिकार फिर्ता लियो। यसले त्यहाँको स्थानीय प्रशासनलाई रुष्ट बनायो। स्पेनको आर्थिक मन्दी र सार्वजनिक खर्चमा कटौतीपछि क्याटालोनियामा स्वायत्ततालाई लिएर नागरिकहरूमा आक्रोश बढ्न थाल्यो। क्याटालोनियाले सन् २०१४ नोभेम्बरमा स्वतन्त्रताका लागि अनाधिकारिक रूपमा मतदानको आयोजना गर्यो।

५४ लाख योग्य मतदातामध्ये २० लाखभन्दा धेरै मतदाता उक्त मतदानमा सहभागी भएका थिए। उक्त मतदानपछि अधिकारीहरूले ८० प्रतिशत नागरिक स्पेनबाट स्वतन्त्र हुने पक्षमा मतदान गरेको बताएका थिए। क्याटालोनियामा सन् २०१५ को चुनावमा पृथकतावादीलाई जित हासिल भएको थियो। उनीहरूले चुनावका क्रममा जनमत संग्रह गराउने आश्वासन दिएका थिए।