दीपक र म एक–अर्काको परिपूरक हौंः

0
Shares

दीपाश्री निरौला
हिरोइन बन्ने सपना बुनेर विराटनगरबाट काठमाडौं आएकी दीपाश्री निरौला नायिका त बन्न सकिनन्, तर तीतो सत्य हुँदै ठूलो पर्दाको फिल्मकी निर्देशक भएर त्यो सफलता चुमिन्, जुन सफलता यो क्षेत्रमा सबैका लागि लोभलाग्दो भएको छ। संगिनी, बेइमान, गाउँलेलगायतका फिल्मबाट सफलता पाउन नसके पनि टेलिसिरियल, रेडियो प्रहसन हुँदै तीतो सत्यबाट अपार माया पाएपछि उनले छक्का पञ्जाबाट आफूलाई सफल महिला निर्देशकको रूपमा मात्र उभ्याइनन्, वर्षौंदेखि निर्देशकका रूपमा सक्रिय पुरुषहरुलाई समेत उछिन्दै पहिलो फिल्मबाटै १६ करोड ग्रस कलेक्सनको रेकर्ड कायम गर्न सफल भइन्।

रेडियो कार्यक्रम धनियाँकी दुनियाँदेखि नै हास्य कलाकारको रूपमा स्थापित दीपाश्री फिल्मकी नायिका, हास्य कलाकार हँुदै निर्देशनमा लागेकी हुन्। छक्का पञ्जाको सफलतापछि निर्मित छक्का पञ्जा–२ ले पनि व्यावसायिक रेकर्ड बनाउँदै जाँदा उनकै निर्देशनमा छक्का पञ्जा–३ समेत निर्माण गर्ने घोषणा भएको छ। यिनै विषयमा दीपाश्रीसँग गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छः
रश्मी थापा

छक्का पञ्जा–२ को व्यापार हेरेर कस्तो लागिरहेको छ ? यसले छक्का पञ्जाको रेर्कड तोड्ला ?

छक्का पञ्जा–२ को व्यापार हेर्दा हमीलाई दर्शकले फेरि पत्याए भन्ने लागिरहेको छ। दर्शकको अथाह मायाका कारण नै फिल्मले सफलता पाउन सकेको हो। दर्शकको मायाले गर्दा हामीलाई अझै धेरै काम गर्न हौसला मिलेको छ। यस कारण हामीले छक्का पञ्जा–३ निर्माणको पनि घोषणा गरेका छौं। जहाँसम्म रेकर्ड तोड्ने कुरा छ, हामीले पहिलेदेखि नै भन्दै आएका छौं कि हामी रेकर्ड तोड्न होइन, मन जोड्न आएका हौं। पैसाको हिसाब हामीले कहिल्यै पनि गरेनौं। दर्शकले मन पराइदिनुभयो यही खुसीको कुरा हो। तर, पनि पहिलो दिनदेखि अहिलेसम्मको व्यापारलाई हेर्दा नतोड्ला भन्न सकिँदैन।

यो फिल्मलाई लिएर विभिन्न किसिमका कन्ट्रोभर्सी पनि चल्यो। यसले तपाईंहरुको फिल्मलाई फाइदा भयो कि घाटा ?

यो त दर्शक र टीका–टिप्पणी गर्नेहरुमा नै भर पर्छ। फिल्मलमई राम्रो भन्नेहरु पनि छन्, नकरात्मकरूपमा हेर्नेहरु पनि छन्। फिल्ममा केही कमी–कमजोरी थिए होलान्। किनभने हामीले बनाएको फिल्म हन्ड्रेड पर्सेन्ट राम्रो हुन्छ भन्ने छैन। यस्ता खालका कन्ट्रोभर्सीले फिल्मको प्रचारप्रसार भइरहेको छ। फिल्मलाई दर्शकले दिएको माया हेर्दा यस्ता खालको टीका–टिप्पणी परिचालित र सुनियोजित हो कि जस्तो लाग्छ।

छक्का पञ्जा–२ सफल भयो भनेर छक्का पञ्जा–३ को पनि घोषणा गर्नुभयो। तर, यो कथाको सिरिज हो र ?

होइन, यो नामले मात्र सिरिज हो। छक्का पञ्जा र छक्का पञ्जा–२ फरक–फरक कथाका फिल्म हुन्। छक्का पञ्जा–३ पनि फरक कथामा बन्नेछ। दर्शकले छक्का पञ्जा र छक्का पञ्जा–२ मन पराइदिनुभएकाले छक्का पञ्जा–३ बनाउने घोषणा गरेका हौं।

तपाईंले होम प्रोडक्नसबाट दुई वटा फिल्म निर्देशन गर्नुभयो, बाहिरको फिल्मबाट अफर आउलान् ?

बाहिरका फिल्मबाट पनि अफरहरु नआएका होइनन्, आइरहेका छन्। तर, हामी आफ्नै प्रोडक्सनबाट वर्षमा एउटा फिल्म बनाइरहेका छौं। काम गरेपछि राम्रोसँग गरेर राम्रो आउटपुट दिन सक्नुपर्छ। छाप्नका लागि मात्र फिल्म बनाइँदैन। फिल्मले प्रभाव छोड्न सके मात्र राम्रो हुन्छ। धेरै फिल्म मात्र लिनुभन्दा थोरै तर राम्रो आउटपुट आओस् भनेर अरू फिल्म नलिएको हो।

तपाईंले केही समयअघि छक्का पञ्जा–२ कै एक प्रमोसनल कार्यक्रममा दीपकराज गिरीबिना म अपुरो छु भन्नुभएको थियो। उहाँबिना तपाईंको फिल्म निर्देशन र सिंगो करिअर नै अपुरो हुन्थ्यो कि ?

हाम्रो सहकार्य दर्शकले मन पराइदिनुभएको छ। उहाँको क्रियसन र मेरो निर्देशनलाई दर्शकले रुचाइदिएका कारण नै हाम्रो सहकार्यले सफलता पाउँदै गएको हो। एक्लैको प्रयासले फिल्म इन्डस्ट्रीमा काम गर्न गाह्रो छ। हामी एक–अर्काले सिकेको कुरा प्रयोग गर्छौं र एक–अर्कालाई काममा सहयोग गर्छौं। फिल्म इन्डस्ट्रीमा धेरै जोडी टुटेका छन्, तर हाम्रो जोडी टिकिरहेको छ, यसमा म निकै खुसी छु। राम्रो मौका र राम्रो काम पाएँ भने उहाँसँग मात्र होइन अरूसँग पनि काम गर्न सक्छु। उहाँबिना करिअर अपुरो हुने त होइन तर हामी एक–अर्काको परिपूरक हौं।