अर्गानिक चियाको माग बढ्दै

0
Shares

 

गणेश साम्पाङ, पाँचथर

पाँचथरको फिदिमस्थित निरौला छापाखानाका कम्प्युटर अपरेटर सूर्य नेम्बाङ फुर्सद हुनासाथ सगरमाथा आर्गानिक कोशेली घरमा चियाको चुस्की लिन पुग्नुहुन्छ।

नेम्बाङ जस्तै अर्गानिक चियाका पारखी याक्थुङहाङ निर्माण सेवा फिदिमका सहायक म्यानेजर प्रभु कुरुम्बाङ, प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख दिनेश श्रेष्ठ पनि फुर्सद पाउन साथ अर्गानिक चियाको स्वाद लिन त्यहाँ पुग्ने गर्छन्।

दुई वर्ष अघि सो कोशेली घर शुरू गर्दा पसल नचलेर लगानी डुब्ने हो कि भन्ने चिन्ता थियो। तर, अहिले ग्राहकलाई राखेर चिया खुवाउन निकै धौं–धांै रहेको सञ्चालक बालिका न्यौपाने बताउँछिन्। विगत एक वर्ष अघिदेखि चिया र अर्गानिक पत्ति बिक्री गर्दै आउनु भएकी न्यौपानेसँग ग्रिन टी, ब्ल्याक टी, ब्ल्याक काइट टी, गोल्डेन टी र ह्वाइट टी गरी ५ प्रकारको चिया र पत्ति बिक्री गर्नुहुन्छ। आफ्नो पसलमा चिया पिउने र पत्ति किन्ने दुवै खालको ग्राहक आउने गरेको न्यौपाने बताउनुहुन्छ।

यो चियाको महत्त्वबारे सबैको फरक–फरक बुझाइ छ। ‘पहिला पहिला दूध हालेको सीटीसी चिया पिउने बानी थियो तर त्यो चियाले आफ्नो स्वास्थ्य बिग्रेको जस्तो लाग्यो अहिले अर्गानिक चिया पिउन थालेपछि मेरो स्वास्थ्यमा सुधार भएको छ। दूध हालेको सीटीसी चिया २⁄३ कप पिउन साथ पेट दुख्ने हुन्थ्यो। तर, अहिले दिनमा ७⁄८ कप पिउँदा पनि केही हुन्न बरु स्वस्थ भएको महशुस हुन्छ।’

कुरुम्बाङको भनाइ छ। ‘केही वर्ष अघिसम्म दूध हालेको चिया मात्र ग्राहकले माग्ने गरेका थिए। तर, अहिले ग्रिन टी र ब्ल्याक टीका ग्राहक पनि प्रशस्त आउने तमोर भ्याली गेष्ट हाउस फिदिमका सञ्चालक कुमारी राईले बताउनुभयो।

जिल्लामा अर्गानिक चियाका ग्राहकको माग बढेपछि उत्पादन गर्ने केही उद्योग पनि खुलेका छन्। यी सबै उद्योगले अर्गानिक चिया उत्पादन गर्छन्। यी अर्गानिक चिया उद्योगले जिल्लामा दुई सयभन्दा बढी व्यक्तिलाई रोजगारीसमेत दिएको लेकाली चिया उद्योगका सञ्चालक मुक्ति आर्चायको भनाइ छ। सीटीसी चिया प्रायः गरेर मानिस दुधको खान्छन यो चियाले ग्याष्ट्रिक समस्या हुनेलाई असर पुर्याउँछ। त्यही भएर पनि मानिस अर्गानिक चिया पिउन थालेका जिल्ला अस्पताल पाँचथरका प्रमुख डा. पवनकुमार शाह बताउनुहुन्छ।

अर्गानिक चियाको ग्रिनटीमा क्याटेचिन भन्ने तत्त्व पाइन्छ त्यसले खास गरी क्यान्सर समस्या भएका व्यक्तिका लागि रोकथामको काम गर्छ त्यसले पनि मानिसहरू ग्रिनटी वा अन्य अर्गानिक चिया पिउन थालेका हुन्। पहिलाको तुलनामा अर्गानिक चियाका ग्राहकको संख्यामा वृद्धि भएको छ। केही वर्ष अघि अमेरिका युरोपका विभिन्न देशमा जाने गरेको अर्गानिक चिया अहिले स्वदेशमा पनि निकै माग बढेको छ। कञ्चनजंघा चिया उद्योग फिदिमका प्रबन्धक निरानन्द आचार्य भन्नुहुन्छ।

पहिला पहिला सीटीसी चिया बढी पिउँने ग्राहकहरू मात्र भेटिन्थे तर अहिले प्रायः सबै होटलले अर्गानिक चिया समेत राख्न थालेका छन। फिदिममा मात्र अर्गानिक चिया बिक्री गर्ने ४⁄५ वटा पसल खुलेका छन्।