मुख्य निर्वाचन अधिकृत तोकिए


 

सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ।

आयोगले आज बिहीबारदेखि लागू हुने गरी ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित १ सय ६५ जना निर्वाचन अधिकृत नियुक्त गरेको हो। त्यसैगरी जगेडामा रहने गरी थप ९ जना निर्वाचन अधिकृत पनि नियुक्त गरेको आयोगले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतमा सम्बन्धित जिल्लाको न्यायाधीश र निर्वाचन अधिकृतहरूमा न्यायसेवाका राजपंत्राकित द्वितीय श्रेणी (उपसचिव) स्तरका कर्मचारीहरूलाई नियुक्त गरिएको हो। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबीच कुराकानी भएपछि न्यायसेवाबाट जनशक्ति माग गरिएको थियो।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिृकतलाई यही असोज २४ र २५ गते निर्वाचन व्यवस्थापनसम्बन्धी तालिम दिने तयारी पनि आयोगले गरिरहेको प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। तालिमपछि निर्वाचन व्यवस्थापकीय कार्यमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाइने भएको छ। प्रवक्ता ढकालका अनुसार मंसिर १० गते हुने निर्वाचनका लागि असोज २९ गते आइतबार र दोस्रो चरणको निर्वाचन हुने जिल्लामा कात्तिक ९ गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।

मुख्य निर्वाचन अधिकृतले जिल्लाभित्रको निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरीवेक्षण गरी आवश्यक निर्देशन दिने अधिकार प्रदान गरिएको छ। त्यसैगरी निर्वाचन गराउने सम्पूर्ण काम कारबाही स्वच्छ र स्वतन्त्र रूपमा गर्नु र गराउनुपर्ने निर्वाचन अधिकृतहरूको कर्तव्य हुने ऐनमा उल्लेख गरिएको छ।

मुख्य निर्वाचन अधिकृत विशेषतः जिल्लामा स्थानीय प्रशासन, सुरक्षा निकाय, जिल्लाका निर्वाचन कार्यालयका प्रमुखसँग समन्वय गर्ने, निर्वाचन अधिकृतहरू खटाउने, मतदान अधिकृत तोक्नेलगायत आवश्यक जनशक्ति र निर्वाचन सामग्रीको व्यवस्थापनको काम गर्ने र निर्वाचन प्रक्रिया अघि बढाउने प्रमुख निर्वाचन आयुक्त डा. यादवले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

‘निर्वाचनका लागि आवश्यक ६४ प्रकारका सामग्रीमध्ये १२ प्रकारका सामग्री कार्यालयबाटै व्यवस्थापन गर्ने गरिएको छ। त्यस्तै मतपेटिका, मतदाता शिक्षाका लागि सामग्रीको प्रबन्ध, निर्वाचनका लागि रेखदेख गर्ने काम पनि मुख्य निर्वाचन अधिकृत गर्ने गरेका छन्।’ –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो। आगामी निर्वाचनमा सुरक्षा फौजबाहेक दुई लाखको हाराहारीमा जनशक्ति परिचालन हुने जनाइएको छ।