लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेसको घोषणा



फाइल फोटो

रामकृष्ण चापागाईं, काठमाडौं
नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेलका साथै चुनावपछि पार्टी एकीकरण गर्नेसम्मको निर्णय सार्वजनिक गरेपछि नेपाली कांग्रेसले पनि आन्तरिकरूपमा एकता र सम्भव भएसम्म लोकतान्त्रिक शक्तिसँग तालमेल गरी चुनावमा होमिने निर्णय गरेको छ।

वाम एकताबाट आएको तरङ्गले मुलुकको राजनीति नयाँ मोडतिर गइरहेका बेला कांग्रेसले पनि चुनावी एकताका लागि अन्य दलसँगको छलफललाई तीव्रता दिएको छ। प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गरेसँगै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा तथा कांग्रेसका अन्य शीर्ष नेताले लोकतान्त्रिक गठबन्धन बनाउन राष्ट्रिय जनता पार्टीका नेता संघीय समाजवादी फोरमका उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणालगायतका नेताहरूसँग छलफल शुरू गर्नुभएको छ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने र त्यसपछि पार्टी एकीकरण गर्नेसम्मको उद्देश्य राखी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच समझदारी भएपछि आगामी रणनीति तय गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहीबार पनि बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा. प्रकाशशरण महतले नेपाल समाचारपत्रलाई जानकरी दिएअनुसार मंगलबार बसेको कार्यसम्पादन समिति बैठकमा पछिल्लो राजनीतिक ध्रुवीकरणलाई कांग्रेसले अवसरका रूपमा उपयोग गर्दै चुनावमा होमिनुपर्ने बारेमा छलफल भएको थियो।

‘बैठकमा वाम गठबन्धनविरुद्ध कांग्रेस एकजुट भएर सम्भव भएसम्म अन्य दलसँग पनि सहकार्य गरी चुनावमा होमिनुपर्ने धारणा आइरहेको छ’, नेता महतले भन्नुभयो– ‘वाम ध्रुवीकरणलाई कांग्रेसले अवसरका रूपमा उपयोग गर्ने छ।’ राजनीतिक संक्रमणमा यो ध्रुवीकरणले मुलुकको हित नगर्ने भन्दै कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले यसले अन्त्यमा मुलुकमा अस्थिरता ल्याउने बताउनुभएको थियो।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारेमा विस्तृत छलफल भइरहेको बैठकमा सभापति देउवाले तोकिएको मितिमा आफ्नै नेतृत्वको सरकारले निर्वाचन गर्ने पनि बताउनुभएको थियो।

सभापति देउवाको अध्यक्षतामा गठित कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा वरिष्ठताको आधारमा रामचन्द्र पौडेल, डा. शशांक कोइराला, सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, रामशरण महत रहेका छन्।

यसै गरी अर्जुननरसिंह, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू र एनपी साउद सदस्य छन्।

६ दलबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौं, (नेस)
आगामी निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेससहित ६ दल लोकतान्त्रिक गठबन्धन बनाउन सहमत भएका छन्।

बुधबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ६ दलबीच भएको छलफलमा लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको निष्कर्षसहित गठबन्धन निर्माणका लागि सहमति जुटेको हो।

बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘लोकतान्त्रिक शक्तिहरू आगामी निर्वाचनका लागि गठबन्धन गर्न सहमत भएका छौं। गठबन्धनका लागि ७ सदस्यीय कार्य दल गठन गरेका छौं।’

महतोले वाम गठबन्धनले आगामी निर्वाचनलाई प्रभावित पार्न खोजेको बताउँदै त्यस विषयमा पनि छलफल भएको बताउनुभयो। बैठकमा कम्युनिस्टहरूको एकतालाई अप्राकृतिक भएको नेताहरूले बताएका छन्। बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गठबन्धन निर्माणका लागि बनाइएको कार्यदलमा कांग्रेसबाट २ जना गरी अन्य पाँच दलबाट १⁄१ जना रहने जानकारी दिनुभयो। उहाँले आगामी निर्वाचन मात्र नभई पार्टी एकताका विषयमा पनि छलफल हुने बताउनुभयो।

बैठकमा नेपाली कांग्रेससहित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सहभागी रहेको थियो।

बैठकअघि नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुनुपर्ने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, विजय गच्छदार, कमल थापा, पशुपति शमशेर राणलगायतको सहभागिता रहेको थियो। आज बिहान ८ बजेसम्म कार्यदल सदस्यहरूको नाम सिफारिस भएपछि ९ बजेबाट बैठक शुरू हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्