किम जोङको विद्यार्थीकालको खुलासा


सोल, (एजेन्सी)
हाल विश्व राजनीतिको केन्द्रबिन्दुको रूपमा रहेका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको विद्यार्थी जीवनकालका स्वभाव र रहस्यबारे एक शिक्षकको हालै खुलासाले गरी विश्वभरि सनसनी मचाएका छन्।
अन्तर्राष्ट्रिय समुदायले लगाएका विभिन्न नाकाबन्दी र संयुक्त राष्ट्र संघको कडा निर्देशनका बाबजुद उनले लगातार क्षेप्यास्त्र तथा आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दैनिकजसो छाइरहेका उनका केही स्वभाव र विद्यार्थी जीवनका रहस्यबारे हालै परिचय नखुलाइएका एक पूर्वशिक्षकले खुलासा गरेका छन्। स्विटजरल्यान्डको कोएनिजस्थित लिएबेफेल्ड–स्टेनहोल्जी नामक विद्यालयमा किम जोङ उनले अध्ययन गरेको बताइन्छ। त्यतिबेला उनले आफे वास्तविक परिचय लुकाएर विद्यालयमा भर्ना भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलासा गरेका छन्।

ती शिक्षकलाई उद्धृत गर्दै जनाइएअनुसार सात वर्षको उमेरमा किम जोङ उनले सन् १९९१ देखि सो विद्यालयमा अध्ययन शुरू गरेका हुन्। शिक्षकले एक विद्यार्थीका रूपमा किम निकै अनुशासित, महवाकांक्षी र मेहनती रहेको बताएका छन्। उनी जर्मन भाषामा निकै पोख्त रहेको बताइन्छ। उत्तर कोरियाका पूर्वराजदूत री सू योङको संरक्षकत्वमा किमले स्विटजरल्यान्डमा पढाइ गरेका थिए। त्यतिबेला उनले उत्तर कोरियाली दूतावासका कर्मचारीको छोराका रूपमा पढाइ गरेको बताइएको छ।

उनका सहपाठी माएक्रो इम्होफका अनुसार किम निकै रमाइलो स्वभावका थिए। उनी सधैं ख्यालठट्टा गर्ने र सबैसँग राम्रो व्यवहार गर्ने व्यक्तिका रूपमा चिनिन्थे। विभिन्न मुलुकका विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा उत्तर कोरियाको दुश्मन मुलुकका विद्यार्थीहरूप्रति पनि किमको कुनै पूर्वाग्रह नदेखिएको पनि उनका तत्कालीन सहपाठीहरूको भनाइ रहेको छ।