डीआईजी सिलवालद्वारा राजीनामा


काठमाडौं, (नेस)
नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले राजीनामा दिनुभएको छ।

आईजीपी नियुक्ति प्रकरणमा मंगलबार सर्वोच्च अदालतले उहाँको मागदाबी पूरा नहुने भन्दै रिट खारेज गरेपछि उहाँले राजीनामा दिनुभएको हो।

सिलवालले ३० वर्षे प्रहरी सेवामा रहँदा कयौंपल्ट प्रहरी संगठनको गरिमालाई उच्च राख्ने काम गरे पनि सरकारले आफ्नो योगदानको कुनै मूल्यांकन नगरेको भन्दै प्रहरी सेवामा रहिरहन ठीक नलागेको बताउनुभएको छ।

सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सिलवालले जीवनभर आफूले कानुनको परिपालना गरेको तर आफूमाथि राज्यबाटै योजनाबद्धरूपमा आक्रमण भएको बताउनुभयो।

सरकारले वरियताक्रम मिचेर प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेपछि उहाँले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो। उहाँले २०७३ चैत्र ३० गते अदालतमा रिट दायर गर्नुभएको थियो।

रिटमाथि मंगलबार भएको सुनुवाइमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नेतृत्वको वृहत् पूर्णइजलासले फैसला गर्दै उहाँको माग दाबी पूरा नहुने भन्दै रिट खारेज गरेको हो। प्रहरी सेवाबाट राजीनामापछि उहाँले नयाँकाम शुरू गर्ने पनि बताउनुभएको छ।