बैतडीको पाटन विमानस्थल कालोपत्रे हुदै


नेपाल समाचारपत्र, बैतडी ।

बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य अर्थात स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । विमानस्थललाई २०७५ असार मसान्त भित्र कालोपत्रे गर्ने लक्ष्य सहित कटिङको काम तीव्र गतिमा भइरहेको हो ।

गतसालको बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्ने गरी बजेट विनियोजन गरेको थियो ।

सोही अनुसार गत मंसीरमा विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारिएको थियो । सोही डिपीआर अनुसार विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्न ठेक्का आवह्वान गरेर निर्माण कार्य शुरु गरिएको हो । करीब १३ करोडको लागतमा ५८० मिटर लम्बाई २० मिटर चौडाई क्षेत्रफलमा कालोपत्रे गरिने नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले जानकारी दिनुभयो । यस बिमानस्थलमा टुईनेटर बिमान अवतरण गर्ने सक्ने र दुई बिमान पार्किंग गर्न सकिने उहाले बताउनुभयो ।

गाल्वा च्याङमिला जगदम्बा जेभी निर्माण कम्पनीले विमानस्थललाई कालोपत्रेका साथै घेरबार गर्ने कम्पनीका प्रतिनिधि दानसिंह रावलले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘अहिले कटिङको काम भइरहेको छ, यसपछि फिलिङ गरेर विमानस्थललाई कालोपत्रे गरिनेछ ।’

लगातारको बर्षाका कारण स्तरोन्नतिको काम २ महिना ढिला भएको छ, समयमै सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको कम्पनीका प्राबिधिक पुरनदेव रावलले जानकारी दिनुभयो ।

लामो समयदेखी बन्द रहेको बिमानस्थल सुचारु गर्ने हिसाबले काम शुरु भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । बन्द रहेको विमानस्थल सञ्चालनका लागि काम शुरु भएपछि आफूहरु खुशी भएको स्थानीय उत्तम भण्डारीले बताए । विमानस्थल सन्चालनमा आए यस क्षेत्रको विकासले फड्को मार्ने उनको भनाई छ ।

पाटन विमानस्थल सञ्चालनमा आए यो क्षेत्रमा पर्यटकको आगमन हुने स्थानीय लवदेव जोशीले बताउनुभयो । पाटन देशका १० नमूना शहर मध्ये एक शहर पनि हो, ७ नम्बर प्रदेश पर्यटन सम्भावना बोकेको क्षेत्र हो, पाटन विमानस्थल सञ्चालनमा आए भारतको उत्तराखण्डबाट नेपाल आउने पर्यटक बैतडी भएर आउने उहाँको भनाई छ ।

पाटन विमानस्थल सुचारु भएमा पत्तालभूमेश्वर लगायत बैतडीका धार्मिक पर्यटकीय क्षेत्र, दार्चुलाको अपी हिमाल, बझाङको सैपाल हिमाल र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकहरु भित्र्याउन सजिलो हुने विश्वास लिइएको छ । यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गतको पाटन नमूना शहर भएकाले पनि विमानस्थल सुचारु हुनुपर्ने धेरैको भनाई छ ।

वि स २०६९ सालमा तत्कालिन पर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र बिष्ट मगरले पनि विमानस्थल सुचारु गर्ने प्रतिबद्धता जनाएका थिए । तर त्यो प्रतिबद्धता मात्रै सिमित भयो ।

२०७२ सालमा तत्कालीन अर्थराज्यमन्त्री दामोदर भण्डारीको पहलमा गतसालको बजेट भाषणमा पाटन बिमान स्थलका लागि बजेट छुट्टयाइए पछी स्तरोन्नतिको काम शुरु भएको छ, अब विमानस्थल सुचारु हुन्छ कि भन्ने आश गर्न सकिन्छ ।

पाटन विमानस्थल सुचारु भयो भने यस क्षेत्रको धार्मिक पर्यटनको विकास हुनेछ र यसले स्थानीयको आयआर्जनमा समेत टेवा पुग्नेछ ।