बस्तीनजिकै कालीगण्डकीको बहाव


 

मालढुंगाका माझी त्रसित
दुर्गाप्रसाद शर्मा, पर्वत
निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेर बस्तीसम्म आइपुगेपछि यहाँको एक माझी बस्तीका बासिन्दा त्रसित बनेका छन्।

कालीगण्डकीको किनारमा रहेको कुश्मा नगरपालिका–१ स्थित मालढुंगाका माझी परिवार रातभर जाग्राम बस्न बाध्य भएका हुन्। गत वर्ष बस्तीमाथिको पहाडबाट पहिरो खसेर घरवार गुमाएकाहरू पुनः यस वर्ष कालीगण्डकीको बहाव बढेपछि समस्यामा परेका हुन्।

मालढुंगामा ६३ सुकुम्बासी परिवार र अन्य ४८ गरी १ सय ११ परिवार बसोबास गर्दै आएका छन्। तीमध्ये झन्डै ३० घरपरिवार कालीगण्डकी किनारको बालुवामा रहेका छन्। केही दिनदेखि लगातार परेको वर्षाका कारण एक्कासि नदीको बहाव उर्लिएपछि घर नै छाडेर छिमेकीकोमा गएर बस्नुपर्ने समस्या आएको स्थानीय गणेश माझीले जानकारी दिए। कति बेला पूरै घर बगाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको उनले बताए।

अघिल्लो वर्षको असार ३ गते भूकम्पका कारण हल्लिएको पहाडबाट खसेको पहिरोले बस्ती पुरिएपछि उक्त बस्तीमा बस्नका लागि जोखिम बढ्दै गएको थियो।
स्थानीय सुकुम्बासी गणेश माझीले वर्षायाममा पानी पर्दा भीर, पहिरो र कालीगण्डकी नदी हेरेर बस्नुको अन्य विकल्प नभएको बताए। उनले भने– ‘जाने ठाउँ अन्त कतै छैन, ढुक्कसँग बस्नु कहिल्यै पनि छैन।’ पहिरो गएका बेला स्थानीय प्रशासन र सुरक्षा निकाय पुगेर सामान्य पन्छाउने काम गरे पनि वैकल्पिक उपाय नदेखाइदिएको उनले गुनासो गरे।

वर्षा हुँदाको दिनमा रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको धनबहादुर माझीले बताए। उनले भने– ‘बगरमा रहेको घर कति बेला बगाउने हो केही टुंगो छैन।’ उनीहरूले वर्षेनी पुनर्बासको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने गरेको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताएका छन्।
उक्त बस्तीका अधिकांश परिवारको मुख्य पेसा बंगुरपालन र बालुवा निकाल्ने रहेको छ। बालुवामा निर्भर विपन्न आर्थिक अभावका कारण उक्त स्थानबाट स्थानान्तरण हुन नसकेका हुन्। उनीहरूले वैकल्पिक बासस्थानको व्यवस्था गरिदिन पनि सम्बन्धित निकायलाई माग गरेका छन्।

यता जिल्ला प्रशासन कार्यालय पर्वतले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमको अवस्थालाई मध्यनजर गर्दै सतर्कता अपनाउन र विपत्ति आउने अवस्था देखिएमा प्रहरी प्रशासनलाई खबर गर्नसमेत आग्रह गरिएको कार्यालयले जनाएको छ।

उता दक्षिण पर्वतको सेतीवेणीमा पनि बहाव बढेको छ तर कालीगण्डकी जलविद्युत् परियोजनाको बाँधका सबै ढोका पूर्णरूपमा खोलिएकाले आत्तिनुपर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। वर्षा निरन्तर भएकाले परियोजनाका सबै ढोका खोलिएको बताइएको छ।