भेन्टिलेटर अभावमा निसासिँदै नवजात शिशु

0
Shares

 

दयाराम पण्डित, बाजुरा
जिल्ला अस्पताल, बाजुरामा एक थान भ्यान्टिलेटरसम्मको सुविधा नहुँदा यतिखेर नवजात शिशु जिल्ला अस्पताल बेडमै निसासिनुपरेको छ। बडिमालिका नगरपालिका ७ जिल्लीकी २४ वर्षीया मीना पण्डितले आइतबार बिहान एक नवजात शिशुको जन्म दिइन्। शिशु गर्भमै उल्टो भएकाले आमालाई बच्चा जन्माउनै निकै सास्ती खेप्नुपरेको उपचारमा संलग्न चिकित्सकले बताए।

टाउको अड्किँदा बच्चा निसासिएको हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विकले बताएका छन्। डा. दुर्गा महर्जनको सहयोगमा उल्टो बच्चालाई झुण्ड्याउने विधिबाट शिशुको जन्म भएको हो। ‘बच्चा जन्मेपछि श्वास खुलेन। कृत्रिम स्वास दिँदा पनि श्वास आएन। तत्काल एम्बुब्यागको प्रयोग गरी अक्सिजन दिइरहेका छौं’ –डा. महर्जनले भन्नुभयो।

‘सामान्यतया बच्चाले एक मिनेटमा ४० पटक श्वासप्रश्वास गर्नुपर्छ। तर, यो बच्चाले एक मिनेटमा जम्मा चार पटक मात्र श्वास लिएको छ, त्यो पनि एम्बुब्यागको सहायतामा स्वास लिएको छ। मुटुको धड्कनअनुसार हातले दाबेर अक्सिजन दिनुपर्छ। हातको भरमा मुटुको धड्कन नचल्न सक्छ। अवस्था के हुन्छ भन्न सकिँदैन’ –डा. महर्जनले भन्नुभयो।

‘बिहानै नवजात शिशुलाई नेपालगन्ज रिफर गर्ने तयारी अस्पतालले गरेको थियो। हेलिकोप्टर रिर्जव गर्ने क्षमता हामीसँग छैन, एम्बुलेन्स प्रयोग गर्दा कम्तीमा २२ घण्टाको यात्रामा बच्चाको स्वास दिएर लैजान अप्ठेरो भएपछि नवजात शिशु जिल्ला अस्पताल मार्तडीमै मर्ने बाँच्ने दोसाँधमा छ’ –शिशुका कान्छा बाजे मथुराराज पण्डितले बताउनुभयो।