नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुरू

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास एक्स सूर्यकिरण आइतबारबाट रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कूलमा मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी राजेन्द्र कार्कीले एक विशेष कार्यक्रमका बीच शुभारम्भ गर्नुभयो।

विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषयहरू समावेश गरी सञ्चालन भएको उक्त संयुक्त अभ्यासको यो १२औं संस्करण हो।

उक्त संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र केसी र भारतीय सेनाबाट महासेनानी ललित मोहन मिश्राले नेतृत्व गर्ने भएका छन्। दुबै देशका करिब तीन –तीन सयजना सहभागी गराइ सञ्चालन भएको उक्त संयुक्त अभ्यास आगामी भदौं ३१ गते सम्पन्न हुने भएको छ। यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको एघारौं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरि सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुबै देशमा गरी ११ पटक सञ्चालन भइसकेको छ।

संयुक्त अभ्यासमा फौजहरूले प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा अभ्यास गर्नेछन्।

यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदानप्रदान हुनेछ। नेपाली सेना र भारतीय सेनाबीचको यस किसिमको सैनिक अभ्यासले दुई देशबीच सदियौंदेखि रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुबै देशको सेनाबीच समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।